२०८३, १७ असार बुधबार

निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक ः मन्त्री अर्याल

सुर्खेत ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले निर्वाचन प्रणाली परिवर्तन नभएसम्म महिलाले समानता पाउन नसक्ने बताएकी छिन् । बुधबार सञ्चारीका समुहले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री अर्यालले समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीका कारण क्षमता हुनेले चुनावमा टिकट नपाउने र पैसा नहुनेले समानुपातिकमा नै सीट सुरक्षित देख्ने भएका कारण पुरुष बराबर प्रत्यक्ष निर्वाचनमा महिलाहरु कम लडने गरेको बताईन । ‘सबै महिलाले समानुपातिक रुपमा अवसर प्राप्त गर्नुछ भने कम्तीमा यो निर्वाचन प्रणालीबाट सम्भव नै छैन ।’ उनले भनिन, ‘यसकालागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ ।

यसबारेमा छलफल अगाडी बढाउन जरुरी छ ।’ उनले निर्वाचनमा आँट मात्रै नभएर गाँठको पनि आवश्यकता पर्ने र त्यसले गर्दा चुनावशैली महंगो हुन गएको बताईन । पत्रकार महिलाका लागि निर्वाचन र आमसञ्चार माध्यम विषयक कार्यशालालाई सम्वोधन गर्दै मन्त्री अर्यालले भाषणले मात्रै अब देश नचल्ने बताएकी छिन् । ‘हिजोका दिनमा जसले राम्रो भाषण गथ्र्यो त्यहि व्यक्ति हाइ हाइ हुन्थ्यो ।’ उनले भनिन, ‘तर अब हरेक पाइलामा काम देखाउनुपर्ने, क्षमता बढाउनुपर्ने आवश्यकता छ । सबैजना जहाँ हुनुहुन्छ क्षमता बढाउन लाग्नुहोस ।’ उनले पदले कोही पनि ठूलो नहुने बताउँदै निर्वतमान सभामुख कृष्ण महरालाई हेर्न आग्रह गरिन ।
कार्यक्रमलाई सम्वोधन गर्दै कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले मिडिया र अन्य व्यत्ति बिच सुमधुर सम्वन्ध हुनुपर्नेमा जोड दिईन । ‘सबै क्षेत्रको विकासका लागि मिडिया क्षेत्रको आवश्यक छ । हामी सबैले सहकार्य गर्न जरुरी छ ।’ उनले भनिन्, ‘त्यसकालागि सबैले दत्तचित्त भएर आफुमा आएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न जरुरी छ ।’ उनले महिलाले पछिल्लो समयमा पर्याप्त अधिकार पाएपनि त्यो प्रशस्त नभएको बताउँदै थप अधिकार प्राप्तिकालागि सबै महिला बीच एकता अनिवार्य रहेको बताईन ।