सामाजिक समितिद्वारा बराहतालमा अनुगमन
सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले गत आर्थिक वर्षमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले वितरण गरेको अनुदानबारे अनुगमनमा तीव्रता दिएको छ । मंगलबार समितिका अध्यक्ष राजु नेपालीको अध्यक्षतामा बराहताल गाउँपालिकाको गाग्रेताल, सुन्द्वारी क्षेत्रमा गत आर्थिक वर्षमा वितरण गरिएका भैसिहरुको अवस्थाका बारेमा जानकारी लिएको हो । ‘भैसी वितरण भइसकिेपछि व्यापक असन्तुष्टि आएको थियो ।’
समितिका सचिव राजेन्द्र पौडेलले भने, ‘कस्ता समस्या हुन भनेर थाहा पाउन जनताको घरमै पुगेर समितिले अनुगमन गरेको हो ।’ उनका अनुसार समितिले सुर्खेतका अधिकांश क्षेत्रमा गइ अनुगमन गरिसकेको बताए । ‘हामीले जिल्लाका अधिकांश स्थानमा गइ अनुगमन गरिसकेका छौं ।’ उनले भने, ‘जनताका धेरै गुनासा आएका छन् । ती बारेमा केहि दिनमा हामी जानकारी गराउनेछौं ।’ अनुगमनमा समितिका अध्यक्ष राजु नेपाली, सदस्यहरु पदमा खड्का, यज्ञराज विसी, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष शेरबहादुर थापाको सहभागिता रहेको उनको भनाई थियो ।
