२०८१, ३० आश्विन बुधबार

समृद्ध कर्णाली बनाउन हातेमालो गर्न निर्माण व्यवसायीलाई आग्रह, पार्टीभित्र अराजकता बढेको मुख्यमन्त्रीको गुनासो

सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर वोगटीले समृद्ध कर्णाली बनाउनकालागि हातेमालो गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजना गरिएको नेपाल निर्माण व्यवसायी संगठनको तदर्थ समिति गठन तथा सपथग्रहण समारोहलाई सम्वोधन गर्दै अध्यक्ष बोगटीले व्यवसायीले गुणस्तरीय काम गरेर कर्णालीलाई समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताए ।
‘अहिले कर्णालमिा रहेका अधिकांश आयोजना अलपत्र अवस्थामा छन् । ती आयोजना नबनेका कारण कर्णाली अझै पछि परेको छ ।’ उनले भने, ‘तपाइहरु समयमै आयोजना सम्पन्न गर्नुहोस । नेकपाले देखेको समृद्धिको सपना पुरा हुन्छ ।’ अध्यक्ष वोगटीले नेकपा निर्माण व्यवसायीको पक्षमा रहेको बताउँदै जनताका सपना पुरा गर्न सबैको एकताको विकल्प नभएको बताए ।

‘जबसम्म नेकपा निकटका व्यवसायीहरुका बीचमा तालमेल हुँदैन । तबसम्म नेकपाले लिएको लक्ष्य पुरा हुन सक्दैन ।’ नेकपा निकटका व्यवसायीलाई सम्वोधन गर्दै उनले भने, ‘अब तपाईहरु एक कदम अघि बढनुपर्छ । तपाईहरुले राम्रो काम गर्न सके त्यो नेकपाको शीर उचों बनाउन मदत गर्छ ।’ उनले पार्टीका काममा तीव्रता दिइएको बताए । ‘विभिन्न जिल्लामा नेकपाका स्थानीय कमिटिहरु निर्माण भइरहेका छन् ।’ उनले भने, ‘अब बाँकी जिल्लाका संगठनहरु निर्माण गर्ने कार्यमा तीव्रता दिइनेछ ।’
पार्टीमा अराजकता बढ्योः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपामा अराजकता बढेको गुनासो गरेका छन् । ‘पार्टीका नेताहरु सल्लाह नदिने बरु सामाजिक सञ्जालमा सरकारको विरोध गरेर स्टाटस लेख्ने गरेका छन् ।’ उनले भने, ‘सरकार पार्टी भन्दा ठूलो होइन । मुख्यमन्त्रीको मात्रै आलोचना गरेर विरोधी पार्टीलाई बल पुग्ने गरी लेखेमा पार्टीलाई नोक्सान हुन्छ की हुँदैन ? जनप्रतिनिधिले कहि नराम्रो गरेको छ भने पार्टीले सुझाव देओस । त्यस्तालाई पार्टीले चाहेको खण्डमा जिम्मेवारीबाट निकाल्न पनि सक्छ । तर यहाँ पार्टी भित्रैका नेताहरुमा अराजकता बढदै गएको छ । यसलाई कसले लगाम लगाउने ?’

मुख्यमन्त्री शाहीले नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो नभएको बताए । उनले पार्टीको घोषणापत्र अनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्ने बताउँदै पार्टीका नेता कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्ने बताए । ‘सरकार नेकपाकै हो ।’ उनले भने, ‘सरकारको मात्रै असफलता हुदैन । पार्टी पनि जोडिएको छ । भोली पार्टीको भविष्य के हुन्छ ?’ उनले विगतमा राजनीति गर्नका लागि विकास गर्ने गरिएको बताउँदै अब विकास गर्न राजनीति गर्नुपर्ने बताए । ‘आवश्यकताको पहिचान गरेर मात्रै विकास गरिनेछ ।’ उनले भने, ‘विगतको जस्तो बजेट बाँडने तर काम नै नहुने प्रथाको अन्त्य गर्नेछौं ।’

मिडियामाथि खनिए पुर्व मन्त्री

कर्णाली प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री मिडियामाथि खनिएका छन् । ‘काँचो रुखमा आगो लगाइएको छ । परिवन्धमा पार्ने काम भएको छ । पत्रिकामा समाचार आएको नाउँमा काम गर्ने परिपाटीको विकास हुनु राम्रो भएन ।’ उनले भने, ‘पहाडमा टाउको ठोकाउँदै मेहनत गरेर आएको व्यक्ति हुँ ।’ उनले नैतिकताको प्रयोग सम्मगर्न नदिनु आफ्ना लागि दुर्भाग्य भएको बताए । ‘मलाई पार्टीले मन्त्री बनाएको हो । कम्तमिा पार्टीले मलाई एक अवसर दिनुपर्ने थियो । मिडियाकै आधारमा धारणा बनाएर मलाई बर्खास्त गर्ने काम भयो । कम्तिमा मलाई पार्टीमा कुरा राख्ने अवसर नै दिइएन ।’
उनले आफु मन्त्री हुँदा ३०० योजना टेण्डर गरेको र ७ अर्ब बराबरको ठेका गरिएको बताए । ‘काम सुरु नभएको होइन । काम गर्ने चाहना थियो ।’ उनले भने, ‘मन्त्री आफैले काम गर्ने होइन कर्मचारीले काम गर्ने हो । टेण्डर भएपनि कर्मचारी छैनन कसरी काम हुन्छ ?’ उनले केहि मिडिया सुरु सुरुमा आफ्नो मन्त्रालय नजिक आउने र विभिन्न माग राख्ने तर पछिल्लो समयमा आफुले केहि नदिएका कारण मन्त्रालयमा नआउने गरेको आरोप लगाए । ‘नियोजित रुपमा केहि मिडिया म माथि लागे ।’ उनले भने, ‘सायद मैले उहाँहरुको माग पुरा गर्न सकेनछु ।’

तदर्थ समिति गठन, संयोजकमा श्रेष्ठ

नेपाल निर्माण व्यवसायी संगठन कर्णाली प्रदेशको तदर्थ समिति गठन गरिएको छ । शनिवार भएको भेलाले जुम्लाका निर्माण व्यवसायी अशोक कुमार श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको सहसंयोजकमा डिल्ली प्रकाश केसी र मान बहादुर बम रहेका छन् भने सचिवमा लक्ष्मण प्रकाश पोखरेल र बृख बहादुर टमटा चयन भएका छन् । कोषाध्यक्षमा चन्द्र प्रकाश पोखरेल, सह कोषाध्यक्षमा रवि शाही चयन भएका छन् ।
यस्तै तदर्थ समितिको सदस्यहरुमा प्रदीप खड्का, बिरबहादुर बस्नेत, प्रविन डाँगी, जोगबहादुर विक, हरि बहादुर चन्द, पुस्कर बस्नेत, लोकेश खत्री, अनिता भण्डारी, टोपेन्द्र बुढा, नवराज न्यौपाने, सूर्य बहादुर खत्री, कमल रोकाया, लोकेन्द्रजंग शाही, जानकी बम, विनिता श्रीपालीलगात चयन भएका छन् ।