२०८१, ३० आश्विन बुधबार

सरकारलाई सफल बनाउन भूमिका खेल्न मन्त्री बुढाको आग्रह

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारलाई सफल बनाउने गरी काम गर्न कर्मचारलिाई आग्रह गरेका छन् । शनिबार वीरेन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टी निकटका प्रगतिशिल वन प्राविधिक संघ कर्णाली प्रदेशको भेलालाई स्म्वोधन गर्दै उनले नेकपाका हौं भन्ने तर काम गर्दा सुत्ने परिपाटीको अन्त्य गर्न सुझाव दिए । ‘तपाईहरु नेकपाकै हौं भनेर भन्नुहुन्छ ।’ उनले भने, ‘तर काम गर्दा सुत्ने बानी त्याग्नुस । सरकारले लिएको लक्ष्यलाई कार्यान्वयन गर्दै सरकारलाई सफल बनाउन लाग्नुहोस ।’ उनले कर्मचारी नेकपा निकट भएको बताउँदै सरकारको अंग भएर काम गर्न आग्ह गरे ।

गतवर्ष अनुभवको कमी भएका कारण बजेट कार्यान्वयन नभएको बताउँदै यो वर्ष बजेट कार्यान्वयनमा गम्भीर भएर खटन मन्त्री बुढाले निर्देशन दिए । उनले मन्त्रालयमा रहेका सबै कर्मचारीहरुलाई उपयुक्त जिम्मा दिइने बताउँदै नआत्तिन आग्रह गरे ।

‘पर्यटनतर्फका आयोजनाहरुलाई जिल्लामा पर्यटन प्रवृद्धन समिति तथा प्रदेशमा पर्यटन वोर्ड गठन गर्ने तयारीमा मन्त्रालय छ ।’ उनले भने, ‘अहिले कर्मचारी अभावका कारण अलिकती समस्या भएको हो ।’ सरकारलाई उपयुक्त सल्लाह, सुझाव दिन कर्मचारहिरुलाई आग्रह गर्दै मन्त्री बुढाले मन्त्रालयले कर्मचारीको भलाईकालागि के गर्नुपर्छ तयार रहेको बताए ।