कालिकोटः काम नहुँदै भुक्तानी
सुर्खेत ।
आर्थिक वर्ष २०७५÷०७६ मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा अर्गानिक गाउँ बनाउन भन्दै २६ लाख ६५ हजार रुपैंया विनियोजन ग¥यो । १३ भकारो सुधार, १० कुखुराको खोर सुधार, ३० कम्पोष्ट मल निर्माण गर्ने खाडल, २५ जनालाई अर्गानिक क्षमता अभिवृद्धि तालिम तथा अर्गानिक उत्पादनका लागि ५ ओटा प्लाष्टिक घर निर्माण गर्न भन्दै सो बजेट विनियोजन गरेको थियो ।
श्रीमती पार्वती सिंह नेकपाको जिल्ला कमिटि सदस्य भएका कारण तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै निर्वाचन क्षेत्र भएका कारण उक्त योजना त्यहाँ छनौट भएको थियो । पञ्चदेवल तरकारी तथा फलफुल उत्पादन कृषक समूहले उक्त काम गर्ने गरि कृषि ज्ञान केन्द्र कालिकोटसँग सम्झौता ग¥यो ।
सिंहका श्रीमान हेमराज सञ्ज्याल समुहको अध्यक्ष बनाइए । समूहले १२ लाख रुपैंया पेश्की पनि लग्यो तर काम केहि नगरेको गुनासो आएपछि मन्त्रालयले काम सम्पन्न नभएसम्म भुक्तानी नदिने निर्णय ग¥यो ।
सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सोही आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय मार्फत हेमराजकै लगानी रहेको निशान फर्निचर उद्योगमा रु ४ लाख लगानी गरेको थियो । केहि समय हेमराजले सञ्चालन गरेपनि अहिले भने बन्द रहेको श्रोतले बतायो ।
सोही वडामा धान मेला खानेपानी उपभोक्ता समितिले पञ्चवर्षीया योजना अनुसार हेमराज कै नेतृत्वमा योजना बनिरहेको छ । संघीय सरकारबाट १९ लाखको बजेट सोही आर्थिक वर्षमा आयो । ट्यांकी राम्रो बनाइएपनि आयोजनाको मुहानमा स्टिमेट अनुरुपको काम भने भएको छैन ।
सोही वडामा संघीय सरकारबाट पञ्चदेवल सुधार गर्न भन्दै ७ लाख रुपैंया बजेट आयो । त्यसका अध्यक्ष रत्नबहादुर सञ्ज्याल बनाइए । तीन लाख बराबरको काम गरेको बाँकी रुपैंया हिनामिनिा गरेको श्रोतको दाबी छ । उक्त सुधार समितिको अध्यक्ष पनि उनै हेमराज नै हुन ।
कसरी पाए त्यत्रो बजेट ?
हेमराजकी पत्नी पार्वती सिंह साविक एमालेकी जिल्ला कमिटि सदस्य थिईन । उनी नेकपा भइसकेपछि नेकपा कालिकोटको सदस्य भइन । उनी राजनीति गर्ने र सरकारका प्रभावशाली मन्त्रीहरुसँग नजिक भएकी हुनाले उनले आफ्नै वडामा बजेट हाल्न लगाउने र श्रीमानलाई त्यसको अध्यक्ष बनाउने काम गरिन । त्यस्तो गर्दा उनलाई सजिलो पनि भयो । एक त दुर्गम स्थान भएको त्यसैमा गाउँमा नाम चलेकी नेताकी श्रीमती भएका कारण कसैले औंला ठड्याउने हिम्मत नराखेका कारण उनको हालीमुहाली भएको श्रोतको दाबी छ ।
के भन्छन वडाअध्यक्ष ?
वडा नं. ६ का वडाअध्यक्ष रंगराज सार्की अर्गानिक मोडल गाउँको कार्यक्रम जनताबाट बुझ्दा नभएको बताए । ‘दुइ कट्टा सीमेन्ट र केहि जस्तापाता केहि व्यक्तिलाई दिइएको भन्ने सुनेको छु ।’ उनले भने, ‘बजेट के गरे थाहा छैन तर काम यहाँ भएकै छैन ।’ उनले पञ्चदेवल सुधारको काम राम्रो नभएको भन्ने कुरा बारम्बार हेमराजलाई भनेता पनि नसुनेको बताए । ‘उहाँहरुले तीन लाख बराबरको काम गर्नुभयो ।’ उनले भने, ‘काम राम्रो भएन भनेर बारम्बार मैले भन्दा पनि अटेर गर्नुभयो ।’ उनले फर्निचर उद्योग केहि समय चलाइएपनि अहिले बन्द रहेको पुष्टि गरे । ‘हामीसँग उहाँले कुनै पनि सिफारिस लिनु भएको छैन ।’ उनले भने, ‘हामीलाई कहाँ काम गर्नुभयो जानकारी नै छैन ।’
राजनीतिक प्रतिशोध साँध्न आरोप
यता, हेमराज भने आफुले अन्यको भन्दा कहियौं गुण राम्रो काम गरेको दाबी गर्छन । ‘अन्यत्र भन्दा मैले धेरै राम्रो काम गरेको छु र म राजनीति गर्ने मान्छे हो । म माथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो ।’ उनले भने, ‘केहि पत्रकारले पनि एकपक्षीय समाचार लेखे ।’ उनले खानेपानी आयोजनाको मुहान आफ्नै नाउामा दर्ता भएको बताए । ‘मैले धेरै मेहनत गरेर तीन करोडको खानेपानी आयोजना गाउँका लागि नीजि ४ लाख बढी खर्चेर ल्याएको हुँ ।’ उनले भने, ‘काम असाध्यै राम्रो भएको छ ।’ अर्गानिक गाउँमा कालिको कृषि ज्ञान केन्द्रका प्रमुख भरत बस्नेतसँग आफ्नो झण्डै हात हालाहालको स्थिति आएको बताए । ‘अरु सबैको भुक्तानी दिइएको छ । मेरो मात्रै रोकियो ।’ उनले भने, ‘मैले केहि सामान असारमै गाउामा पुर्याइसकेको छु ।’ उनले फर्निचर कम्पनीमा काम आएको बेला मात्रै खोल्ने गरेको दाबी गरे ।
सरकार के भन्छ ?
वडामा यत्रो अनियमितता भएको बारे प्रतिक्रिया लिन खोज्दा सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृसषि तथा सहकारी मन्त्री विमला केसीले त्यस्तो भएको भए छानविन गर्ने बताईन । ‘हामीले छानविन गरिरहेका छौं ।’ उनले भनिन, ‘यदि त्यस्तो भएको हो भने हामी रकम फिर्ता गर्न लगाउँछौं ।’ उनले यसबारेमा सोध खोज गर्न आग्रह समेत गरिन । ‘सबै ठाउँमा मन्त्री नै पुग्न सकिने अवस्था छैन ।’ मन्त्री केसीले भनिन, ‘कहि त्यस्तो भएको छ भने बाहिर ल्याउनुहोस हामी कारवाही गर्न तयार छौं ।’