२०८१, १० बैशाख सोमबार

गुराँसको चलाखी: राउटे समुदायमा जान अब टिकट काट्नुपर्ने

सुर्खेत ।
देलेख, सुर्खेत, जाजरकोट लगाएतका जिल्लाहरुमा बस्दै आएका लोपोन्मुख समुदाय राउटे समुदायको अवलोकन गर्न जाँदा अब टिकट काट्नुपर्ने भएको छ ।
गुराँस गाउँपालिका दैलेखले राउटे समुदायको अवलोकनको लागि टिकटको व्यवस्था गर्न लागेको हो ।

बिभिन्न आन्तरिक तथा बाह्य पर्यटकहरुको राउटे वस्तीमा अनुगमन र सहभागिता धेरै नै हुन थालेपछि यस्तो व्यवस्था मिलाउन लागेको गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्र कुमार महताराले जानकारी दिए ।

उक्त समुदायको अबलोकनका लागि धेरै मानिसहरुको चहलपहल हुने गरेको छ, अध्यक्ष महताराले भने, ‘राउटे समुदाय पर्यटनको आकर्षण पनि हो, त्यसैले हामी टिकट काटेर मात्र अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन लागेका छौ ।’
गाउँपालिका अध्यक्ष खेमराज ओलीले धेरै मानिसहरुको चहलपहलले गर्दा राउटे समुदायको संस्कृति खलल् पुग्ने अवस्था रहेको भन्दै यसको सम्वद्र्धनको लागि पनि टिकटको व्यवस्था गर्न लागिएको बताए ।
उनले यस विषयमा २६ गते बस्ने कार्यपालिका बैठकबाट समेत यसलाई पारित गरिने जानकारी दिए । उनले भने, ‘राउटे समुदाय भनेको पर्यटक आकर्षणको केन्द्र पनि हो, र उनिहरु फरक संस्कृती भएको समुदाय पनि हो, एकातिर उनिहरुको संस्कृती जोगाउनु छ भने अर्कोतिर पर्यटक भित्र्याउनु पनि छ ।’ उनले थपे, ‘यी दुवै कुरालाई मध्यनजर गरि हामीले टिकट काटेर मात्र राउटे अबलोकन गर्न सकिने व्यवस्था मिलाउन लागेका हौँ ।’
उनले राउटे समुदाय बसेको वस्ती वरपर तारबार गर्ने कार्य शुरु भइसकेको भन्दै दुइजना गेटपास गराउने व्यक्ती पनि राख्न लागिएको जानकारी दिए । राउटे समुदायको अवलोकन र सहयोगको लागि भन्दै विभिन्न व्यक्ती संस्थाहरु आउने गरेको भएपनि कतिले के सहयोग गरे ? के सहयोग गरे ? भन्ने एकिन हुन नसकिरहेको बेला टिकट सिस्टमले यसको लेखाजोखा पनि रहने अध्यक्ष ओलीको दाबी छ । यसअघि गुराँस गाउँपालिकाले पहिलोपटक राउटे समुदायलाई स्थायी परिचयपत्र प्रदान गरिसकेको छ ।

राउटेले पहिलोपटक गाडीमार्फत वस्ती सारे

पश्चिम नेपालमा फिरन्ते रुपमा बस्दै आएका राउटे समुदाय एक ठाउँबाट अर्को ठाउँमा सर्दा हिडेरै सर्ने गर्छन् । तर पहिलो पटक भने उनिहरु बसमा चढेर वस्ती सरेका छन् ।


सुर्खेतको लेखवेसी नगरपालिकामा वस्दै आएको उक्त समुदाय वस चढेर गुराँस गाउँपालिका वडा नम्बर ५ गोगनपानीमा वस्ती सरेका हुन् । उनिहरुलाई वसको व्यवस्था गाउँपालिका आफैले गरेको थियो । पहिलोपटक गाडीबाट वस्ती सारिएको भन्दै राउटे मुखिया सुर्यनारायण शाहीले अहिलेसम्म पैदल हिडेरै वस्ती सर्ने गरिएको बताए । राउटेहरु पहिलेको वस्तीमा पुग्न १२ बर्ष लाग्ने भनिएपनि यसपटक भने ९ महिनामै गुराँस गाउँपालिका सरेका छन् ।
फिरन्ते समुदायको रुपमा परिचित यो समुदायको संख्या घट्दो क्रममा छ । अहिले यो समुदायको संख्या एक सय ४५ जना रहेको छ ।

बस चढेर बसाई सर्दै राउटे .