युवा वैज्ञानिक सम्मेलन सकियो
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा पाँचौँ अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकिएको छ । बुधबार र बिहीबार गरी दुई दिनसम्म वीरेन्द्रनगरमा भएको सम्मेलनले वैकल्पीक स्रोत र प्रविधिको विकास गर्ने मुख्य उद्देश्य लिइएको थियो ।
अन्तर्राष्ट्रिय विज्ञान सामुदायिक संगठन र एमयूको सह–आयोजनामा भएको उक्त सम्मेलन बिहीबार विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
विज्ञान, प्रविधि, कृषि, पर्यावरण, सामाजिक लगायतका विभिन्न विधामा ४० वर्षमुनिका उत्कृष्ठ वैज्ञानिक छनौट भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस वनस्पती विषयका उप–प्राध्यापक शिवराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार सम्मेलनको पहिलो दिन बुधबार चार वटा मुख्य पत्रहरु प्रस्तुतीकरण, प्रस्ताव लेखन, वैज्ञानिक अनुसन्धान प्रकाशन, विज्ञान अनुसन्धानमा तथ्याङ्कशास्त्र भूमिका लगायतको विषयमा छलफल तथा प्रस्तुत भएको उप–प्राध्यापक घिमिरेले बताए । पहिलो बुधबार पाँच वटा सेसन भएको थियो भने जसमा दुई वटा प्लेनरी प्रस्तुती, दुई वटा निमन्त्रणा प्रस्तुती र पोष्ट र प्रतिस्पर्धाको प्रस्तुतीकरण भएको उनको भनाइ छ ।
युवा वैज्ञानिक प्रतिस्पर्धाबाट विभिन्न विधाका कार्यपत्रको निर्णायक समितिले मूल्याङ्कन गरी विभिन्न विधामा प्रमाण–पत्र तथा मेडल प्राप्त गरेका छन् । सम्मेलनका लागि कुल ९५ वटा प्रस्तुतीहरु पठाएकोमा ७० को हाराहारीमा सहभागिता जनाएका थिए ।
जसमा २३ वटा मौखिक प्रस्तुती भएका थिए । बिहीबार भएको सम्मेलनको दोस्रो दिन तीन वटा सेसनमा विभाजन गरी कार्यक्रम सञ्चालन गरिएको थियो । सम्मेलनमा अमेरिका, बंगलादेश, भारत, नेपाल, नाइजेरिया लगायतका पाँच देशका वैज्ञानिकहरुको सहभागिता रहेको थियो ।
सम्मेलनको समापन समारोहमा सहभागीलाई प्रमाण–पत्र वितरण गर्नुका साथै विदेशी विश्वविद्यालयबाट नेतृत्व गरी आएका सहभागीलाई मायाको चिनो प्रदान गरिएको छ । सम्मेलनको समा पनमा विश्व विद्यालयका अनुसन्धान शाखाका निर्देशक प्राध्यापक डा. दीपबहादुर रावलले विश्वविद्यालय प्राज्ञिक क्षेत्र भएको हुँदा यसको विकासका निम्ति विभिन्न खोज तथ अनुसन्धानमा प्राध्यापक तथा विद्यार्थीहरु लागि पर्नुपर्ने बताए ।
यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सबै सरोकारवाला पक्षहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यसैगरी, विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाईले नेपालमा कमैमात्रा हुने अन्तर्राष्ट्रिय सम्मेलनहरु पहिलोपटक कर्णालीमा हुनु भनेको गौरवको विषय बनेको उल्लेख गरे ।
यस्ता सम्मेलनले यहाँको विद्यार्थी तथा प्राध्यापकहरुलाई थप खोज अनुसन्धानमा लाग्ने हौसला प्रदान गरेको बताए । सम्मेलनमा संयोजक प्राध्यापक डा. दिपक शर्मा (भारत), बंगलादेश कृषि विश्व िवद्यालय डा.अजहरुल इस्लामको सहभागिता रहेको थियो ।
विज्ञान तथा प्रविधि संकायका डीन देवबहादुर खड्काले यो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको साथै आगामी दिनमा विभिन्न देशमा रहेका विश्वविद्यालयहरुसँग हातेमालो गर्दै यस्ता सम्मेलन हरुको सञ्चालन गरी विज्ञान तथा प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए ।