६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी
सुर्खेत: कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा रु दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म रु ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ । र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिला मन्त्री केसीले बताए ।
विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ । संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए ।
आर्थिक वर्ष २०७५÷७६ देखि आव २०७९÷८० सम्मको अवधिमा संघीय सरकारबाट प्राप्त बजेटमा ससर्त समपुरक र विशेष अनुदानमा कूल रु २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी रु सात अर्ब ७८ करोड संघीय सञ्चित कोषमा फिर्ता भएको छ ।