नेतृत्व चयनका लागि आज मतदान
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । अधिवेशन प्रयोजनका लागि गठित निर्वाचन आयोगले निकालेको कार्यतालिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि मतदान हुँदै छ। मतदान साँझ ६ बजेसम्म चल्नेछ । मतदान कार्य भने केही ढिलाइ हुने देखिएको छ ।
अधिवेशनमा विभिन्न मोर्चा सङ्गठन र जिल्लाबाट छानिएका ६०४ जना प्रतिनिधिहरू सहभागी छन्। उनीहरुले नेतृत्व चयनका लागि मतदान गर्नेछन्। कमिटीको उम्मेदवार हुनका लागि शुक्रबार बेलुका मनोनयन तोकिएको थियो।
आज बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भए पनि सार्वजनिक भने भइसकेको छैन ।मत परिणाम आइतबार सार्वजनिक गरिने निर्वाचन कार्यतालिका छ। आइतबार नै विजेताहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।