२०८१, १९ बैशाख बुधबार

घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न बर्थिङ सेन्टर सञ्चालन

बाँके – राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ ।

सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाको नौवटै वडामा प्रसुती गृह सञ्चालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

‘गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।’

अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।  गाउँपालिकाले वडा नं ६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसुति गृह भवनको उद्घाटन गरी प्रसुति सेवा सञ्चालनको तयारी गरेको छ ।

योसँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसुती गृह सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसुती गृह सञ्चालनमा आइसकेका छन् । अब यो आर्थिक वर्षमै वडा नंं ८ शम्शेरगन्जमा पनि प्रसुती गृह सञ्चालनमा ल्याइने  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

वडा नं ६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसुति गृह सञ्चालनमा आएपछि सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्यसँगै आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने उनले विश्वास व्यक्त गरे।

कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन् । प्रसुती गृह सञ्चालनपछि भने जनशक्तिको अभाव हुने अनमि तिलसरी घर्तीले बताए ।

छब्बीस लाख २४ हजार ९ सय ५८ मा प्रसुती गृह भवन निर्माण सम्पन्न भएको राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।

वडा नं- ६ मा गर्भवती तथा सबैखाले विरामीको सहजताका लागि एम्वुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटीको रु २४ लाख र गाउँपालिका र वडा कार्यालयको करिब रु।एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको वडाध्यक्ष खरेलले बताए ।

सम्बन्धित समाचार