२०८०, १७ आश्विन बुधबार

आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने

सुर्खेत : आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।
जलवायु तथा विपतविज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे ।
उप्रेतीले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।
पश्चिम बंगालमा सिर्जना भएको न्यूनचापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए । उनले मर्निङ वाकमा सकेसम्म चिसोको वेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए ।
जलवायुविज्ञ उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए । उनका अनुसार हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदूषणमा पर्छ । न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे ।