२०८१, २५ भाद्र मंगलवार

तातोपानी धारामा नुहाए बाथरोग निको हुने जनविश्वास

जुम्ला : जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । मंसिर महिना लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो । अहिले तातोपानी गाउँपालिका –२ जर्मीमा अवस्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।
पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्लावासीलाई ३० रुपैयाँ र जिल्ला बाहिरसँग ४० रुपैयाँ शुल्क लिने गरिएको छ । चिसोको समयमा तातोपानी धारामा झन्डै १ सय देखि २ सयसम्म मासिन नुहाउन आउन गरेको स्थानीय रामकृष्ण न्यौपानेले बताए ।
कार्तिकको दोस्रो सातादेखि नै कुण्डमा नुहाउन आउनेको भीड लागेको हो । मानिस विभिन्न चर्मरोग निको पार्ने विश्वासमा पनि तातोपानीमा नुहाउन आउने गरेका छन् । तातोपानी पर्यटन बिकास केन्द्र जुम्लाले नुहाउन लागि तालिका बनाएको छ। बिहान ५ वजे देखि बेलुका ८ सम्म मात्रै नुहाउने प्रवन्ध मिलाइएको छ । रातीको समयमा बन्द गर्ने गरेको छ । झैझगडा र अनावश्यक होहल्ला हुने भन्दै यो मापदण्ड बनाइएको हो ।
स्थानीय दशरथ चनाराले चैतसम्म तातोपानी धारामा नुहाउनेहरूको भीड लाग्ने बताए । सौख, मनोरञ्जन र विभिन्न रोग सन्चो गराउन मानिसहरू तातोपानीमा नुहाउन आउँछन् । तातोपानी समुद्र सतहदेखि २ हजार ६ सय मिटर उचाइमा अवस्थित छ । तातोपानी जिल्ला सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ । तातोपानीको पोखरीमा ३–४ घण्टा डुबुल्की मारेर नुहाउँदा छालामा घाउ खटिरा आउने, पेटका रोगहरू निको हुने तथा हाडजोर्नी दुख्नेजस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ ।