२०८३, १७ असार बुधबार

अस्थिर राजनीतिको दोष कसलाई

नेपालको राजनीतिक अस्थिरता मुख्यरुपमा प्रमुख नेपाली राजनीतिज्ञहरुको दोष हो र केही हदसम्म विकृत राजनीतिलाई जानेर वा नजानेर समर्थन गर्ने नेपाली नागरिकहरुको पनि दोष हो ।विगतमा शाह वंशको राजतन्त्र र राणाकालीन निरङ्कुशतन्त्र त खुनखराबीमै बितेकै थिए तर त्यसपछिका लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाका कुनै वर्ष पनि राजनीतिक विवाद नभएका वर्ष रहेनन् ।
कहिले प्रजातान्त्रिक समाजवाद र नयाँ जनवादका विषयहरु तीव्र विवादका विषय बने भने कहिले कांग्रेस र कम्युनिस्ट पार्टीहरु अस्वस्थ प्रतिस्पर्धामा रहे । जुन विवाद भए पनि अन्तर्यमा तिनीहरु सत्ताकै खोसाखोसमा केन्द्रित रहे । राष्ट्रको समग्र विकास र सामाजिक परिवर्तन राजनीतिको मूल ध्येय हुनुपर्नेमा कहिले कानुनी आडमा र कहिले कानुन मिचेर पनि केवल सत्ताप्राप्तिमा केन्द्रित रहनु राजनीतिक अपसंस्कृति हो । यो क्रुर बाध्यताबाट अहिले पनि हामी गुज्रनुपरिरहेकै छ ।
तीस वर्षको अवधिमा एकातिर प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन गर्नु र अर्कातिर संसद्ले पटक–पटक प्रधानमन्त्री फेर्ने खेल खेल्नु पनि गम्भीर राजनीतिक अपसंस्कृति हो । दुर्भाग्यवश हाम्रो देशमा त्यही भएको छ । प्रजातन्त्रको पुनस्र्थापनापछि गठन भएको जननिर्वाचित संसद्लाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विघटन गरे । त्यसपछिका वर्षहरुमा कहिल्यै स्थिर सरकार बन्न नसकी राजनीतिक अस्थिरताले ग्रस्त भएको देशमा राजा ज्ञानेन्द्रले पनि संसद् र सरकार विघटन गरी केहीबेर अप्रजातान्त्रिक सरकार चलाए । सबभन्दा पछिल्लोपटक लगभग दुई तिहाइ बहुमतले गठन भएको नेकपाको सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद् विघटन गरे तर पनि संसद्ले अर्को सरकार बनायो । यी घटना राजनीतिक अपसंस्कृतिकै उपज हुन् भन्न सकिन्छ ।