ब्रेक फेल भएपछि चालक हाम्फाले, बस बगरमा बजारियो
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बसमा सिट क्षमताभन्दा धेरै यात्रु थिए । ब्रेक फेल भएको बस घुम्तीमा अनियन्त्रित भएपछि चालक हाम्फलेर भागे, यात्रुले भरिएको बस बगरमा खस्यो र १६ जनाले ज्यान गुमाए भने ३३ जना घाइते भएका छन् ।
२० असोज, मकवानपुर । बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलोममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे । नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड ।
बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्थान (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् । चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।
