कर्णालीमा कछुवा गतिको विकास
गतिलो सडक यातायात कर्णाली क्षेत्रकै पहिलो आवश्यकता हो । विसं २०४० मा सुर्खेत–जुम्ला सडक निर्माण गर्ने भनिए पनि केही वर्षअगाडि मात्र कर्णाली राजमार्ग बनेर जुम्लासम्म मोटर गयो तर कमजोर सडकका कारण चार सयभन्दा बढीको जीवन लिएकाले कर्णाली राजमार्गले ‘मृत्यु मार्ग’ को परिचय पाएको छ । हुम्ला र डोल्पालाई अहिलेसम्म पनि सडकले छोएको छैन । न सडक यातायात प्रभावकारी छ न हवाई यातायात। हवाई मैदान कामचलाउ हालतमा मात्र छन् । विद्युत् र पर्यटनका पूर्वाधार छैनन् । रारा र फोक्सुन्डो पर्यटक पर्खेर बसेका छन् । ज्यादै महँगो यातायातले पर्यटक लोभ्याउनसकेको छैन । छरिएका बस्ती र बजारले खास उपलब्धि हासिल गर्नसकेका छैनन् । शिक्षा र स्वास्थ सेवा नाममात्रका छन् । अर्थात्, अहिलेसम्म पनि विकास पूर्वाधार दिगो र भरपर्दो छैन ।
कर्णालीमा केही वर्षयता सीमित संख्यामा झोलुङ्गे पुल, स्कुल, स्वास्थ्य चौकी, केही सरकारी भवन, हवाई मैदान त बनेकाछन् तर तिनलाई विकास भन्नसकिने अवस्था छैन । भएका विकास निर्माण पनि कछुवाको गतिमा छन्। विनियोजन गरिएको बजेट खर्च हुनसकेको छैन । कच्चा पदार्थ, सिमेन्टलगायत निर्माण सामग्री अत्यधिक महँगो हुनाले पनि विकास महँगो भएको छ । प्रशासनिक शिथिलता, निराश जनमानस, प्रभावकारी अनुगमन अभावले कुनै पनि काम राम्रोसँग अघि बढ्नसकेको छैन । अहिलेसम्म पनि कर्णाली विकासको गुरुयोजना बनाएर अगाडि बढ्न सकिएको छैन भने कृषि उत्पादन, रैथाने बाली संरक्षण र विकास, जडीबुटी संकलन, प्रशोधन तथा त्यसको बजारीकरणको अभावले आर्थिक गतिविधि ज्यादै सुस्त छ ।
