२०८१, ४ बैशाख मंगलवार

यसरी भएको थियोः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० चिकित्सकले राजीनामा दिने घटना

सुर्खेत : यही भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी विभागमा प्रतिष्ठानमै कार्यरत चौथो तहका कर्मचारी धनबहादुर शाही आफ्नो छोराका टाँका काटि दिन भनेर पुगेँ । इमरजेन्सीमा ड्युटीमा रहेका डा.करण साह । डा.साह र शाहीको टाका काट्ने बिषयमा भनाभन हुन्छ । भनाभनपछि शाहीले डा. साहलाई हात लात्तीले कुट्छन् । डा.साह घाइते हुन्छन् ।
एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक डा. साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दर्ता गरिन् । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा। साहलाई पक्राउ पुर्जी जारी गरेको छ ।
डा.साहलाई कुट्ने शाहीलाई प्रहरी पक्राउ गरेर मुद्दा चलाएको छ । उनलाई प्रतिष्ठानले जागिरबाट निकालेको छ । डा.साह कुटिनुभन्दा अगाडिको सीसीटिभी फुटेज सार्वजनिक गरि डाक्टर विरुद्ध बाल अधिकार हननको मुद्दा लगाइएको छ ।
घटनाले अर्को मोड लियो
अदालतले डा.साहका नाममा पक्राउ पुर्जी जारी गरेपछि झुट्ठा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । उनीहरु निरन्तर आन्दोलनमा भइरहदा जुम्लाका केही स्थानीयले बाल अधिकार हनन् भएको भन्दै बालकको प्रयोग गरेर चिकित्सकहरुलाई दबाव दिन थाले । बुधबार उनीहरुले आन्दोलनकै क्रममा चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए ।
बुधबार बेलुका एउटा विज्ञप्ती निकालेर उनीहरुले ‘भययुक्त वातावरणमा काम गर्न नसक्ने’ भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा घोषणा गरे ।
उपकुलपति डा. मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्थानीय प्रशासनलाई समेत बोधार्थ पत्र पठाएर सामुहिक राजीनामा दिए ।
उपकुलपति डा. रावललाई बुझाएको सामूहिक राजीनामा पत्रमा भनिएको छ, ’इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा. साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह छ भएको र आफुहरुले सामूहिक राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् ।
यस्तै, यसै घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा.करणमाथि नै झुट्टो मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गर्नु, शान्तिपूर्णरुपमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि स्थानीय केही अराजक व्यक्तिहरुले नाबालकलाई प्रयोग गरी मुठभेटको अवस्था सिर्जना गर्ने प्रयास गरिएको प्रति दुःख व्यक्त गर्दछौं उल्लेख गरेका छन् ।