स्थानीय तहमा युवाहरुलाई जोड
स्थानीय सरकारले युवालाई उत्पादनसँग जोड्न सक्नुपर्दछ । युवालाई कृषि पेशामा आकर्षण गराई आय आर्जनको बाटो देखाउनु पर्छ । ग्रामिण भेगमा थुप्रै जग्गा बाँझो छन् । त्यस जमिनको सही सदुपयोग गर्न विभिन्न कार्यक्रमहरु ल्याउनु आवश्यक छ । कृषि पेशा अंगाल्ने युवालाई कम मूल्यमा ऋण उपलब्ध गराउने, उब्जाइएको कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने, त्यस उत्पादनले बजार नपाएको खण्डमा स्थानीय सरकार कै सक्रियतामा बिक्रि वितरण गरिदिने गर्नुपर्दछ । असिना, हिउँ, किरा तथा विभिन्न रोगहरुबाट कृषि बाली तथा पशुपालनमा हुने क्षति कम गर्न कृषि बिमा योजना अगाडी सार्नुपर्दछ । कृषि सम्बन्धि नयाँ प्रविधि तथा औजारहरुको सही प्रयोग गर्न सिकाउने र कम लागतमा बढी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्दछ । युवालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले प्लम्बिङ, हाउस वायरिङ, सैलुन, ब्यूटि पार्लर तथा कम्प्युटर टेक्निसियनलगायतका तालिम प्रदान गरी व्यापारमा लाग्न प्रेरित गर्नु आवश्यक छ । विदेशबाट फर्किएका युवालाई आफ्नै गाउँठाउँमा लगानी गरेर प्रशस्त आय आर्जन गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गरिदिनु पर्छ । युवालाई करको दायरामा केही प्रतिशत छुट गरी राज्यले सौलियत दिनुपर्छ । पर्यटन क्षेत्रमा युवाकोे लगानी बढाउन पर्यटकीय गन्तव्य स्थलको खोज अनुसन्धान गर्ने, पर्यटकीय पूर्वाधार निर्माण गर्ने तथा होम स्टे तथा एभेन्जरस खेललगायतका गतिविधिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्दछ ।
नेपाली युवामा काम गर्ने इच्छा, जोस जाँगर भएता पनि खाली भइ बस्नुपर्ने बाध्यता छ । बेरोजगारी देश समृद्धिको अवरोधक तत्व हो । बेरोजगार युवाहरु लागुपदार्थ दुव्र्यसनी तथा संगठित अपराधमा लाग्न सक्ने खतरा रहन्छ । यदि यस्ता गलत बाटोबाट रोक्न नसकेको खण्डमा समाजमा अशान्ति, असुरक्षा तथा अपराधिक घटनाले प्रश्रय पाउँदछ । लागुऔषध दुव्र्यसन र विकृतिको शिकार हुनबाट रोक्न स्थानीय सरकारले निरुत्साहित गर्ने, विभिन्न उपचारात्मक कार्यक्रम तय गर्ने र पुनस्र्थापना केन्द्र खोली सव्य, सक्षम युवा बनाउन प्रयास गर्नुपर्छ ।