शासकीय चरित्र सुधार गरौं
नेपालको शासकीय चरित्र आफुलाई आफ्नो फाइदाका लागि नेताहरुले प्रयोग गर्ने गरेका छन् । नेपालका रहेका सबै राजनीतिक पार्टीहरु हरेक जसो राष्ट्रहित विपरितका मुद्दाहरुलाई आफ्नो अनुकुलमा ब्याख्या गर्ने गरेका छन् । राष्ट्रियतालाई चुनावी रणनीतिसँग जोड्ने गरेका छन् । एक प्रकार आफुलाई फाइदा हुने राष्ट्रबादको हौवा फिजाउने गरेका छन् । राजनीतिक दलहरुले राष्ट्रबाटलाई खैलोनाको साधनका रुपमा प्रयोग गर्ने गरेका छन् । देश विकास त यी राजनीतिकहरुको कुनै एजेण्डा नै छैन् । आजकाल केवल राजनीतिक दलका नेताहरु गाली गलौजमा उत्रिनुबाहेक अरु केही छैन् । तर, उनका हनुमानहरु ताली त्यसैमा बजाउँछन् । अब सरकार र यी राजनीतिक दलहरुको भरमा मात्रै केही होला भनी बस्ने हो भने हामी निकै पछि पर्ने हुन्छ । आफ्नो क्षमता, योग्यता र बुद्धि विवेकलाई आ–आफ्नो स्थानबाट प्रयोग गर्नुपर्ने हुन्छ । सञ्चार क्षेत्रमा भएको प्रगतिलाई नियालेर हिजोभन्दा तीव्र ढंगमा देश विकासको मार्गमा हामी अगाडि जान सक्यौं भने मात्रै पछि परेको हाम्रो देशलाई अति गरिब देशबाट सामान्य स्थितिमा पु–याउन सक्छौं । होइन भने हिजोजस्तै राणा शासकहरुले एकातिर पछि पारे, पञ्चायती शासन व्यवस्थाले ३० वर्ष पछाडि धकेल्यो । हाल देशमा गणतन्त्र र संघीयता आएर पनि पछि परेको खण्डमा झनझन् देश रसातलभित्र पुग्नुबाहेक प्रगतिको मार्गतिर अगाडि बढ्नै सक्दैन ।
सरकारको पक्षपातपूर्ण नीति, बजेटमा असमानता र आफ्ना मानिसहरुलाई पालनपोषण गर्ने प्रवृत्तिको कारण पनि आज योग्य र सक्षम मानिसहरु सत्ता र सरकारभित्र मात्रै होइन कि राजनीतिका कुनै पनि निकायमा अगाडि आउन नसकिरहेको हो । न नेपाली कांग्रेसले नै इमानदार नेता–कार्यकर्ता अगाडि सार्न सकिरहेको छ, न वामपन्थी धरातलका नेताहरुले नै आफ्ना इमानदार कार्यकर्ताहरुलाई स्थान दिन सकिरहेका छन् ।श्रमलाई सम्मान गर्ने कार्य समाजवादी क्रान्तिमा हुने गर्दछ । तर आज आफ्नो खेत बाँझो राखी हामीले विदेशीको मरुभूमिमा हराभरा पार्न रगत–पसिना बगाउन जानेहरुलाई प्रोत्साहित गरिरहेका छौं । हिजो पनि परनिर्भर हुन बाध्य भएकाले हामी पछि परेका हौं । अहिले पनि आत्मनिर्भर हुन खोजेनौं भने फेरि पनि हामी पछि पर्ने गर्दछौं । त्यसको लागि पनि पहिला राजनीतिक नेतृत्वले नै सही मार्ग पहिल्याउन सक्नुपर्दछ । यी राजनीतिक दलहरुले शासकीय चरित्र देश देशका पक्षमा लागुन् ।