२०८१, १ बैशाख शनिबार

डोल्पा अस्पताल जोड्ने मोटरेबल पुल नहुँदा बाटोमै ज्यान गुमाउँछन् बिरामी

डोल्पा : जिल्लाको एक मात्र अस्पतालको रूपमा रहेको जिल्ला अस्पताल डोल्पा जोड्ने मोटरेबल पुल नहुँदा उपचारका लागि अस्पतालसम्म पुग्न बिरामीले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।
अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ । सदरमुकामस्थित लामालोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सीधै अस्पतालसम्म पु¥याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ ।
डोल्पाली नेता, स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई पुल निर्माणका लागि पटकपटक गुहार गरे पनि कसैले नसुनेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरबहादुर शाहीले बताए । बजारको झोलुंगे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्याउँछ । त्यसपछि बिरामी बीचबाटोमै अलपत्र पर्ने गरेका छन्। शाहीका अनुसार कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाएका छन् ।