१० हजार नागरिकता वितरण
सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानबाट आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार ३ सय ६३ जनाले नयाँ नागरिकता र ३ हजार ४ सय २० जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।
यस्तै २०७८ साल फागुन मसान्तसम्म १ हजार ९ सय ६५ जनाले राहदानी सिफारिस लिएका र २ सय २७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको खड्काको भनाई छ।
कार्यालयले १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ।
राहदानीबाट १ करोड १४ लाख १ हजार, प्रशासनिक दण्ड जरिवानामार्फत २ लाख ४८ हजार, हातहतियार नवीकरणबाट ६० हजार ४ सय ५० र अन्य सेवा शुल्कमार्फत २० हजार २ सय २० र आन्तरिक बढुवा परीक्षा शुल्क ६ हजार ४ सय गरी जम्मा १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए।
गत आ. व. २०७७/०७८ मा ५ हजार २ सय ७८ नयाँ नागरिकता र १ हजार २ सय ५१ जनालाई प्रतिलिपि वितरण गरिएको थियो। गत आ.व. मा भने ५० लाख ७ हजार ९ सय ७७ मात्र राजस्व संकलन भएको थियो।
कार्यालयले राहदानीबाट ४२ लाख २५ हजार ५ सय र हातहतियार नवीकरणबाट १० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
२०७८/०७९ मा १४ जनाले हातहतियार नवीकरण गरेका छन्। जिल्ला प्रशासनमा २०७८/०७९ मा ३० मुद्दा दर्ता भएकोमा २३ वटा फैसला भएका छन् भने ७ वटा फैसला हुन बाँकी रहेका खड्काले बताए।