२०८१, ११ बैशाख मंगलवार

देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले गर्ने दाबी गरेका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दाबी गरे।

उनले भने, ‘हाम्रै जोडबलमा नागरिकताबारे निर्णय हुँदै छ। आन्दोलनमा खेलेको भूमिकालाई कतै कमजोर हुन दिने छैन। नेपालमा विभेदमा भएका र पछि परेका वर्ग, समुदायको उत्थानका लागि माओवादीको आन्दोलन शुरु भएको हो। एउटा निकै ठूलो डिजाइनअन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्टा गरियो।’

उनले नेकपा माओवादीमा पुनः एकपटक पुनःस्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनःस्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए। अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता÷कार्यकर्ताको संख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने वेला आइरहेको चर्चा गरे।

उनले भने, ‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन। आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन।’

अध्यक्ष दाहालले नेकपा माओवादी पार्टीकै जोडबलमा संघीय संसद्‌बाट नागरिकताबारे निर्णय हुन लागेको दाबी गरे।