सवस्टेशन बनेकाे ६ वर्ष बित्यो, राष्ट्रिय प्रसारण लाइन जोडिएन।
सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगर भन्दा बाहिरको स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासीहरु समस्यामा परेका छन्।
जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भागमा राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासीहरु खमारीखोला लघु जलविद्युत आयोजना, बाबियाचौर लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतबाट सेवा लिइरहेका छन्।
पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उद्धेश्यका साथ वि.सं. २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत सवस्टेशन निर्माण भएपनि नेपाल विद्युत प्राधिकरणले हालसम्म पनि उक्त सवस्टेशन प्रसारण लाइनसँग जोड्न नसक्दा केन्द्रीय प्रसारण पुर्याउन चुनौति थपिँदै आएको छ। प्रसारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि प्रसारण लाइन लिन नसकिएको प्राधिकरणको भनाइ छ।
विद्युत प्राधिकरणले उक्त क्षेत्रमा पोलहरु समेत पुर्याइसकेको छ।
२०७३ सालमा नेपाल विद्युत् प्राधिकरणले पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न भन्दै बाबियाचौरमा सवस्टेसन निर्माण गरेको थियो। तर सञ्चालनमा नआएपछि भने अहिले सवस्टेसनमा भएका संरचना समेत दिन प्रतिदिन बिग्रँदो अवस्थामा छन्।
सव–स्टेशनको काम पूरा भएपनि विद्युत लाईनका लागि सामुदायिक वन क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ। लाइन विस्तारका क्रममा रुखहरू काटिने भएपछि प्रसारण लाइन विस्तार काम रोकिएको थियो।
यता नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाँडै सुरु हुने जनाएको छ। प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियत यादवले भर्खरै मात्र अनुमति पाएकाले छिटै काम सुरु हुने बताए।
३३ केभी विद्युत विस्तारको काम शुरु गरिँदै
कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम शुरु गरिएको छ। कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो।
वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बाबियाचौर–बड्डिचौर–बाँगेसिमल हुँदै वीरेन्द्र नगरस्थित बुदेबुदे सब–स्टेशनमा जोडिनेछ।
मोहन्याल गाउँपालिकामा विद्युत विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ। सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप पोलिङ र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ।
यो क्षेत्रमा रुखहरु नपर्ने भएकाले असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्र बाबियाचौरस्थित विद्युतको सब–स्टेशनमा विस्तार गरिएको लाइन जोडिनेछ। बाबियाचौरमा करिब तीन वर्ष अघि नै सब–स्टेशनमा आवश्यक विद्युतका सबै संरचना जडान गरिसकिएको छ।