२०८१, ५ जेष्ठ शनिबार

यातायात कार्यालयमा भौतिक मन्त्रीको छड्के जाँच

सुर्खेत : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले सुर्खेत स्थित यातायात कार्यालयमा ‘सरप्राइज’ अनुगमन गरेका छन् ।
विहिबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टिम लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीसंग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेको समस्याबारे जानकारी लिएका थिए ।
मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरु आफ्नै सुरमा काम गरिरहेका थिए । सो अवसरमा मन्त्री रोकाया आफै विभिन्न फाँटमा पुगेर निरिक्षण गरेका हुन् । निरिक्षणको क्रममा दुई जना कर्मचारी आफुखुसी बिदामा बसेको पाइयो । सोही कारण कार्यालयका कतिपय फाँटमा काम गर्ने कर्मचारी पनि भेटिएनन् । भने कर्मचारीहरु सरकारी पोसाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेको पाइयो ।
सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा पनि मन्त्री रोकायाले जानकारी लिए । उनले सेवाग्राहीसंग पनि समस्याबारे जानकारी लिएका थिए ।
मन्त्री रोकायाले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन समेत दिए । सेवाप्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
मन्त्री रोकायाले यातायात कार्यालय प्रदेश सरकारसंग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिकाटिप्पणीको अन्त्य हुुनुपर्नेमा जोड दिए । यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए । उनले कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको मन्त्री रोकायालाई जानकारी गराए ।

चार कक्षासम्मको पढाइ एउटै कोठामा, खुला जमिनमा शौच गर्नुपर्ने बाध्यता
मुगु । सोरू गाउँपालिका–९ तलिकालैस्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ ।
स्थापनाको एक दशक बितिसक्दा पनि भौतिक संरचना अभावमा यो विद्यालयले यसरी नचाहदा नचाहँदै पनि कलिला बालबालिकालाई कष्ट दिइरहेको छ ।
०६८ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाई हुन्छ । विद्यालयमा छात्रा ४८ र छात्र ५० गरी ९८ जना अध्ययनरत छन् । सयको हाराहारीमा विद्यार्थी भए पनि उनीहरूलाई एउटै कोठामा बसाएर पठनपाठन गर्नु परेको विद्यालयले जानकारी दिएको छ ।
विशेषगरी यस विद्यालयमा विपन्न, अपाङ्गता भएका विद्यार्थीहरू अध्ययनरत छन् । अपाङ्गता–मैत्री विद्यालय संरचना नहुँदा बालबालिका यसै पनि समस्या भोगिरहेका छन् । कोठा अभाव हुँदा ईसिडी र कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई एउटै कोठामा बसाएर पठनपाठन गराईरहेको मष्टा आधारभुत विद्यालय कालैका प्रधानाध्यापक रत्नप्रसाद चौलागाईले बताए ।
प्रधानाध्यापक चौलागाईँले भने, ‘विद्यालयमा कक्षा कोठा छैनन् भन्ने यहाका स्थानीय सरकार जानकार छ । तर, कुनै सुनुवाई हुँदैन ।’ यसरी स्थानीय सरकार, सरोकारवाला निकायले संरचाना निर्माणमा बेवास्ता गर्नु विद्यार्थीको भविष्यमाथि खेलबाड हो ।
‘एउटै कोठामा पढ्दा डिस्ट्रप हुन्छ, पढ्नै मन लाग्दैन, जानेको कुरा पनि बिर्सिन्छ, परीक्षामा लेख्नै सक्दैनौं,’ कक्षा ४ मा अध्यनरत जनकराजले भने । जनकराज जस्तै अरु विद्यार्थीले पनि सहज वातावरणमा पढ्न नपाएको बताए ।
शौच गर्न झनै सास्ती
मष्टा आधारभुत विद्यालयमा कक्षा कोठामा मात्रको अभाव होइन, शौचालय पनि अभाव छ । शौचालय नहुँदा बालबालिकाहरू असुरक्षित तरीकाले बाहिरन जाने गरेका छन् ।
विद्यालयले एउटा अस्थायी शौचालय बनाए पनि त्यो पर्याप्त छैन । खुला स्थानमा शौच गरे मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा हुँदा–हुँदै पनि बाहिरै शौच गर्नु बाध्य भएको विद्यार्थीहरूको भनाइ छ ।
गाउँपालिका स्रोतबाट मात्रै संरचना निर्माण गर्न असम्भव भएपछि राष्ट्रपति शैक्षिक सुधार आयोजनासहितको सहयोगमा विद्यालयमा दुई कोठे भवन निर्माण जारी छ । छिट्टै नै विद्यालयमा थप भौतिक संरचना बन्ने सोरू गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाले बताए ।
विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाईसँगै राखेर पठनपाठन गराउन निकै असहज वातावरण भएको मष्टा आधारभुत विद्यालयका शिक्षिका कमला जैशीको दुखेसोे छ ।
उनका अनुसार विद्यार्थी समूह बनाएर पठनपाठन गर्न सकिएको छैन । बहुशिक्षा कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई थेग्न नसकिने जैसीको भनाइ छ ।

सम्बन्धित समाचार