२०८३, १७ असार बुधबार

भैरवी गाउँपालिकाको सेवा नरोकिने

दैलेख : भैरवी गाउँपालिकाका अध्यक्ष रीता कुमारी शाहीले आफ्ना श्रीमान्‌लाई भवन निर्माण बापतको भुक्तानी दिन प्रशासकीय अधिकृतलाई दबाब दिएपछि रोकिने भनिएको पालिकाको सेवा सञ्चालनमा आएको छ।

हिजो (सोमबार) गाउँपालिका अध्यक्ष शाहीले आफ्ना श्रीमानले गरेको कामको भुक्तानी नभएसम्म अन्य भुक्तानीसमेत रोक्न प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक र लेखापाललाई भनेपछि असारको मुखैमा प्रभावित बनेको गाउँपालिकाको सेवा आज (मङ्गलवार) देखि सञ्चालनमा आएको हो।

असार २० गते (सोमबार) गाउँपालिकाका अध्यक्ष रीता कुमारी साहीले आफ्ना श्रीमान् बखत बहादुर शाहीले गाउँपालिका प्रशासनिक (प्रिफ्याब) भवन निर्माण बापतको रकम भुक्तानी नगर्ने भए प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकलाई अन्य कुनै पनि भुक्तानी नगर्न र कार्यालयमा हाजिर नगर्न भनेकी थिइन्।

हाजिर नगर्न र अन्य भुक्तानी नदिन भनेपछि प्रशासकीय अधिकृत विकले बिदा मागेका थिए।

गाउँपालिका अध्यक्ष शाहीले कार्यालयमा आउनुहोस् थप छलफल गरेर समस्या समाधान गरौँला भनेपछि आज (मङ्गलवार) कार्यालयमा आएर नागरिकले पाउने पूर्ण सेवा सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।

http://‘श्रीमान्‌ले रकम नपाउन्जेल गाउँपालिकाका सबै भुक्तानी राेक्नू

यता, गाउँपालिका अध्यक्ष शाहीले आज (मङ्गलवार) एक विज्ञप्ति जारी गर्दै अघिल्लो सरकारको पालामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण लगायतका अन्य योजनाको रकम भुक्तानीको प्रक्रिया मिलाई निर्माण व्यवसायी तथा मजदुरहरूको पक्षमा उभिएको बताएकी छन्।

उनले प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीहरूलाई गाउँपालिकामा आई सेवा सञ्चालन गर्न गाउँपालिका अध्यक्ष शाहीले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।