२०७९, २७ श्रावण शुक्रबार

एमआरआई खरिद प्रकरणः कर्णाली प्रदेश सार्वजनिक लेखा समितिले थाल्यो छानबिन

सुर्खेत : कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले खरिद गर्न थालेको एमआरईका विषयमा सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । एमआरआई खरिदमा अनियमितता भएको आशंकामा कर्णाली प्रदेश सभाको सार्वजानिक लेखा समितिले छानबिन थालेको हो ।
सरकारका दुई अस्पतालमा एउटै कम्पनीबाट एकै क्षमताको एमआरई मेसिन खरिदका क्रममा ७ करोड रुपैयाँ फरक परेपछि छानबिन थालेको समितिका सभापती करविर शाहीले जानकारी दिए ।
‘विभिन्न संचार माध्यममा एकै क्षमताको एमआरई मेसिन खरिदका क्रममा ७ करोड रुपैयाँ फरक परेको समाचार आएपछि छानबिन थालेका छौ,’ शाहीले भने, ‘यस विषयमा कसरी फरक प¥यो भनेर डकुमेन्ट पेश गर्न भनेका छौ, डकुमेनट आएपछि थप अनुसन्धान गर्छौ ।’
अस्पतालसँग कागजनात मागेर प्राविधिक टिम सहित छानबिन थालेको उनको भनाई छ । उनका अनुसार सार्वजानिक लेखा समितिले उपकरण खरिदका सम्बन्धनमा जानकारी गराउन ३ दिनको समय दिएको छ ।
सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानबिन थालेको हो ।
सरकारका दुई अस्पताल निजामती (सभिल सर्भिस अस्पताल) र सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन एकै क्षमताका हुन् । दुवै अस्पतालले एउटै कम्पनीबाट उस्तै एमआरआई मेसिन खरिद गर्ने भनेर बोलपत्र स्वीकृत समेत गरेर प्रक्रिया अगाडि बढाइसकेका छन् । दुवै अस्पतालले थ्री टेस्ला क्षमताका एमआरआई खरिद प्रक्रिया अगाडि बढाएका हुन् ।
निजामती अस्पतालले त्यही क्षमताको एमआरई १७ लाख २२ हजार ९ सय डलर अर्थात २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ । निजामती अस्पतालले जेठ २५ गते थ्री टेस्ला क्षमताको एमआरई खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालीलाई दिने निर्णय गरेको छ ।
यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेतले पनि थ्री टेस्ला क्षमताकै एमआरआई मेसिन खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालीलाई नै दिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ ।
ईष्ट वेस्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई नेपालमा ल्याउने गरेको छ ।
दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन् । यहाँसम्मकी विवरणमा एउटा अस्पतालले नम्बरहरु राख्ने क्रममा गरेको गल्ती अर्को अस्पताललमा पनि त्यस्तै छ । स्पेसिफिकेसनका भाषाहरु पनि उस्तै छन् ।
दुवै अस्पतालले साना र ठूला गरी तीन सयभन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन्। जसमा अधिकांश बुँदाहरु एक अर्कामा हुबहु सारिएका छन् । केही नम्बरका बुँदाहरु तलमाथि गरिएका छन् भने बुँदालाई फरक देखाउन केहीमा अंग्रेजी अक्षरको ठूलो भएकामा सानो र सानो भएकामा ठूलो मात्र बनाइएको छ ।
तीन सयभन्दा बढी बुँदाका स्पेसिफिकेसनमा झुक्याउनका लागि आरएफ च्यानल फरक देखाउन खोजिएको छ । सुर्खेतको एमआरआईमा ६४ अथवा त्योभन्दा बढी आरएफ च्यानल भनिएको छ भने सिभिलकोमा ३२ अथवा त्योभन्दा बढी भनिएको छ । तर उक्त बुँदामा दुवै अस्पतालमा एमआरआईको ‘बीड’ भने समान राखिएको छ । दुवै अस्पतालको बीट फ्रिक्वेन्सी ३२ हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख छ । यो भनेको जति च्यानलको आरएफ भए पनि एमआरआईले दिने चित्र (इमेज) उस्तै हुने एक बायोमेडिकल इन्जिनियर बताउँछन् ।