कैलालीबाट सुर्खेत ३३ केभी विद्युत ल्याउने तयारी

सुर्खेत : कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रशारण लाइन विस्तारमा विलम्ब हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम शुरु गरिएको छ। कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो।
वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बावियाचौर–बड्डिचौर–बाँगेशीमलहुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सब–स्टेशनमा जोडिनेछ।
मोहन्याल गाउँपालिकामा विद्युत विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ। सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप पोलिङ र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ।
यो क्षेत्रमा रुखहरू नपर्ने भएकाले असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्र बाबियाचौरस्थित विद्युतको सब–स्टेशनमा विस्तार गरिएको लाइन जोडिनेछ। बाबियाचौरमा करिब ३ वर्षअघि नै सब–स्टेशनमा आवश्यक विद्युतका सबै संरचना जडान गरिसकिएको छ।
‘कैलालीको सोल्टाबाट ३३ केभी विद्युत ल्याउने सबै प्रक्रिया अन्तिम चरणमा छ,’ नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका इन्जिनियर लालबहादुर शाहले भने, ‘बाबियाचौरसम्म विद्युत ल्याउन कुनै अवरोध नभएकोले निर्धारित समयमा काम सकेर पश्चिमका स्थानीयलाई पनि विद्युत विस्तार गर्ने र वीरेन्द्रनगरमा विद्यमान देखिएको लो–भोल्टेजको समस्या समाधान हुनेछ।’
सोल्टा–बाबियाचौर विद्युत विस्तारको लागत झण्डै ६ करोड रूपैयाँ छ। वीरेन्द्रगरमा ल्याइने नयाँ लाइनले बुदबुदे सब–स्टेशनबाट छुट्टाछुट्टै ट्रान्सफर्मरबाट उपत्यकामा विद्युत वितरण गरिनेछ।
‘वीरेन्द्रनगर वितरण भइरहेको लाइनका फिडर पनि छुट्टाछुट्टै छन्। थप गरिएको विद्युत फिडरअनुसार अलग्गै वितरण गर्न सकिन्छ,’ विद्युतका प्रादेशिक प्रशारण केन्द्रका प्रमुख शम्भू कुसे यादवले भने, ‘कोहलपुरबाट ल्याइएको लाइनमा समस्या देखिएमा कैलालीबाट थपिएको लाइन सञ्चालन गर्न सकिन्छ। जसले अनियमित हुने सुर्खेतको विद्युत नियमित गर्नमा सहजता हुनेछ।’
बाबियाचौरसहित पश्चिम क्षेत्रमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तारको अवधारणा २०६८ सालमा शुरु गरिएको हो। शुरुमा वीरेन्द्रनगरस्थित विद्युतको बुदबुदेमा रहेको सब–स्टेशनबाट उपत्यकाको बीच क्षेत्रबाट कोलडाँडासम्म विद्युतका पोल गाडिएको थियो। ठूलै लगानीमा विद्युतका पोल गाडिएको झण्डै १० वर्षपछि रुट परिवर्तन गरिएको छ।
हाल बुदबुदेबाट बजार क्षेत्र हुँदै बाँगेसिमलबाट लाइन विस्तारका लागि पोल गाडिएको छ। लाइन विस्तारको क्रममा दीर्घकालिन योजना नअपनाउँदा राज्यलाई दोहोरो खर्च व्ययभार थापिएको छ।
बजार क्षेत्रबाट पुनः ठेक्का सम्झौता गरेर करिब २ करोडको लागतमा २ सय १५ ओटा पोल गाडिएको विद्युतको प्रादेशिक कार्यालयले जनाएको छ। बाँगेसिमलदेखि बाबियाचौरसम्म बीचमा राष्ट्रिय वन पर्ने भएकाले रुख कटानमा अनुमति नहुँदा तार विस्तारमा ढिलाई भएको छ।
बराहताल गाउँपालिका तथा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका क्षेत्रमा पर्ने १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोगको गर्न दिने निर्णय मन्त्रिपरिषद्ले यसअघि नै गरिसकेको छ। पोल तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रका रुख कटान निर्धारित समयमै वनले गर्नेमा प्रादेशिक कार्यालय विश्वस्त रहे पनि रुख कटानको काम अझै शुरु गरिएको छैन।
डिभिजन वन कार्यालय सुर्खेतका अनुसार मन्त्रिपरिषद् बैठकले रुख कटान अनुमति दिए पनि आधिकारिक पत्र आएको छैन। झण्डै ४ करोडको लागत रहेको आयोजनामा सब–स्टेशनदेखि बाँगेसिमलसम्मको विद्युत पोल र कभर कन्डक्टरसहितको लाइनका लागि १ करोड ९२ लाख बजेट विनियोजन छ।
