न्यायको माग गर्दै नेहारिकाले सुरु गरिन् आमरण अनशन
न्यायको माग गर्दै महोत्तरीको जलेश्वर नगरपालिका–८ की निहारिका राजपुतले आमरण अनशन सुरू गरेकी छन् । कुमारी आमाका रुपमा चिनिने राजपुतले १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको दावी गर्दै आएकी छन् । सो घटनाबाट बच्चा जन्मिए पनि न्याय नपाएको उनको भनाई छ । अहिले उनको २१ महिनाको बच्चा छ ।
काठमाडौंको माइतीघरबाट अनशन थालेकी राजपुतलाई प्रहरीले शुक्रबार राति ९ बजे बसन्तपुर पुर्याएको थियो । उनी अहिले बसन्तपुरमै अनशनमा बसेकी छन् । घटना भएको ४ महिनापछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ बस्ने श्रेष्ठविरुद्व उनले जबरजस्ती करणी मुद्दा दर्ता गराए पनि जिल्ला अदालत धनुषाले श्रेष्ठलाई सफाई दिइसकेको छ । सरकारी वकिलले जनकपुर उच्च अदालतमा मुद्दा पुनरावेदन गरेपनि चार महिनासम्म पेशीसमेत तोकिएको छैन । उनले मुद्दामा पुन: अनुसन्धान हुनुपर्ने र आफूलाई न्याय दिनुपर्ने माग गर्दै आएकी छन् ।
