२०८१, १ कार्तिक बिहीबार

दाङमा १६ दिनको शिशु हत्या आरोपमा १५ वर्षीया आमा पक्राउ

 : दाङमा १६ दिनको शिशु हत्या अभियोगमा १५ वर्षीया आमा पक्राउ परेकी छन्।

 

दाङको राप्ती गाउँपालिका वडा नं–३ मसुरिया निवासी एक १५ वर्षीया आमाले १६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए। उनले गत जेठ ९ गते शिशुको जन्म दिएको काफ्लेले बताए।

आज बिहान-४ बजेतिर ती १५ वर्षीया आमाले आफू चर्पी गएको समयमा छोरी हराएको भनेर गाउँमा हल्ला गरेकी थिइन्। त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट  घटनास्थलमा गएर प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको थियो।

शंकास्पद देखेपछि प्रहरीले आमालाई पक्राउ गरेर सोधपुछ गरेपछि आमाले नै सेफ्टी ट्यांकीमा फालेको खुलेको प्रहरी प्रमुख काफ्ले बताए। दुध खुवाउँदा आफ्नो दुध नआएको र छोरी रोइरहेपछि त्यहि रिसको समयमा छोरीलाई सेफ्टी ट्यांकीमा हालेको उनले प्रारम्भिक बयान दिएको काफ्लेले बताए। मृतक शिशुको शवलाई अहिले लमही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।