२०७९, ५ जेष्ठ बिहीबार

समाजवाद लागु भएको लिमी गाउँ

सुर्खेत । नेपालको संबिधानमै समाजवादी व्यवस्थाको परिकल्पना गरिएको छ । तर, त्यो नेपालमा लागु हुने कहिले हो त्यो पत्तो छैन् । संबिधानमा लेखिएको व्यवस्थाका बिषयमा खासै जानकारी नराख्ने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँमा भने यो व्यवस्था विगत लामो समयदेखि कायम रहँदै आएको छ ।
नाम्खा गाउँपालिका–६ को लिमी गाउँमा तीन वटा गाउँ हल्जी, तिल र जाँग बनेको छ। यो हिमाली क्षेत्रमा रहेको एउटा उपत्यका पनि पनि हो । हल्जीमा ८२, तिलमा ५२ र जाँगमा ६० घरपरिवार बस्छन् ।
११ सय वर्षदेखि अवस्थित यी गाउँहरुको आफ्नै चालचलन रहेको छ । यहाँको समाजमा आफ्नै नियम कानुन रहेका छन् । मिली गाउँमा कसैले पनि जनवारमाथि हिंसा गर्न पाइदैन् । ६५ वर्ष उमेर पुगेका मानिसले श्रम गर्न पर्दैन् । गाउँमा अपराधका घटना शुन्य रहेको छ । स्थानीय निकायको चुनाव नभएको बेलामा पनि यो गाउँमा स्थानीय बसेर वडा अध्यक्ष चुनिने गरेका थिए । जनप्रतिनीधिबिहिन कहिल्यै हुन परेन् । गाउँमा भ्रष्टाचार शुन्य अवस्थामा रहेको छ ।
हिमालपारीको सुन्दर गाउँमा एक प्रकारको समाजवादी व्यवस्था नै रहेको हुम्लाका स्थानीय तथा कर्णाली योजनाका आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले बताए । ‘सामाजिक हिसाबले एक प्रकारको समाजवादी व्यवस्था नै भन्नुपर्छ । सबैले सामान भएर काम पाउनु सामाजिक हिसाबले कुनै विभेद रहेको छैन् ।’ उनले भने,‘त्यहाँ एक आपसमा सदभाव अरुले अनुशरण गर्ने खालको रहेको छ ।’
वडाका जनप्रतिनीधि चुनिए
स्थानीय तहको निर्वाचन ३० बैशाखमा हुने भएपनि लिमीका स्थानीयले जनप्रतिनीधि केही महिना पहिले नै चयन भइसकेका छन् । गाउँको महत्वपूर्ण निर्णय लिनका लागि कार्तिक अन्तिम हप्ता र मंसीरको पहिलो हप्तामा तिन गाउँका बासिन्दा बसेर निर्णय लिने गरेका छन् ।
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि लिमीबासीले स्थानीय जनप्रतिनीधिको छनौट गरिसकेका छन् ।
वडा नम्बर ६ मा हालकै वडाध्यक्ष पाल्जोर तामाङ दोहोरिएका छन् । सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएका छन् । यसअघि वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा याङकी तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए ।
गत २०७४ सालका स्थानीय तहको निर्वाचनमा यो वडामा निर्वाचन नभएर सर्वसम्मत वडाका पदाधिकारी चयन भएका थिए ।
अब सरकारले तोकेको ३० वैशाखको निर्वाचनमा लिमीमा वडाध्यक्षदेखि वडा सदस्य कसैको मतदान हुने छैन्, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्ने वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘लिमीका तीन गाउँमा तीनवटा मतदान केन्द्र छन् । सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरी मतदाताको संख्या ५४१ रहेको छ ।’ उनले भने,‘आगामी स्थानीय तहको निर्वाचनमा अब गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुनेछ ।’
नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँमा मिलेर बनेको छ । वडा अध्यक्षमा पाल्जोर तामाङ चयन भएको भएपनि गाउँका वडा अध्यक्ष छुट्टै चुनिने गरेका छन् । उनीहरुको सबैको समयावधि पाँच वर्षको हुने गरेको छ । विगतमा निर्वाचन नभएको समयमा पनि उनीहरुले प्रत्येक पाँच÷पाँच वर्षका लागि वडा अध्यक्ष चुन्ने गरेका थिए ।
वडा निर्देशन विना काम गर्न पाइदैँन्
लिमी गाउँमा गाउँका अध्यक्ष बिना कुनै पनि नीजि तथा व्यक्तिगत काम गर्न नपाइने र त्यसका लागि वर्षको एक दिन हुने बैठकमा गाउँका सबैले उपस्थित हुनुपर्ने उपस्थित हुन नसकेमा हैसियतअनुसार हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चलन रहेको वडाध्यक्ष तामाङले जानकारी दिए । बैठकमा १६ वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घरका मूलीले मात्र बस्न पाउने नियम बनाइएको छ ।’ उनले भने,‘सरकारी नियम कानुन त हामीले पालना गरेका छौं । त्यसमाथि हाम्रो गाउँको सबै बसेर बनाउने कानुन पनि छ ।’
बृद्ध र बालबालिकालाई श्रम बन्देज
लिमी उपत्यकामा ६५ वर्ष कटेपछि सार्वजनिक काम गर्न नपाइने नियम बनाइएको छ । बृद्धबृद्धहरुलाई कामको बोझ नहोस् भनेर स्थानीयले ६५ वर्ष उमेर कटेपछि सरकारी तथा नीजि काम गर्न नपाउने नियम बनाएका हुन् ।
गाउँ नै ६५ वर्ष उमेर कटेपछि काम गर्न नपाउने नियम बनाएको ६४ वर्षीय कोन्क्याप मुटुप तामाङले बताए । ‘लामा समुदायको बसोबास हाम्रो गाउँमा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक र १५ वर्षमुनिका बालबालिकालाई सार्वजनिक काम गर्न बन्देज छ ।’ उनले भने,‘बालबालिका र ज्येष्ठ नागरिकलाई काम गराउँदा श्रमशोषण हुने भएकाले यस्तो नियम लगाइएको हो ।’
प्रहरी चौकी शुन्य उजुरी
लिमीको प्रहरी चौकीमा अहिलेसम्म कुनै उजुरी नपरेको छैन् । झै–झगडा, अपराध र चोरीका घटना कसैले नगर्ने हुनाले लिमीमा प्रहरी कहाँ उजुरी नपर्ने गरेका हुन् ।
वर्षौं पुरानो प्रहरी चौकी गाउँले एउटा पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
गाउँ–गाउँका बीच सामान्य विवाद आए गाउँलेसँग वडामै बसेर मिलाउने गरिएकाले पनि प्रहरी चौकीसम्म पुग्नु पर्ने अवस्था नआएको वडा अध्यक्ष तामाङले जानकारी दिए । ‘चौकीका प्रहरी गाउँमा आएको देखिए खाद्यान्न पानीको समस्या, उपाचार वा कार्यालय र आफन्तसँग फोन सम्पर्क गर्न जाने गर्छन् ।’ उनले भने,‘हाम्रो गाउँमा प्रायः कुनै उच्छृखल गतिबीधि हुदैनन् ।’