२०८१, १२ बैशाख बुधबार

संघिय सरकारको बजेट: कर्णालीमा सडकमार्ग विस्तार देखि सुरुङमार्ग सम्मका योजना

सुर्खेत । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश÷स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताएका छन् ।

बजेट बक्तव्यमा कर्णालीका विभिन्न जिल्लाहरुमा सडक मार्ग निर्माण गर्ने देखि लगेर सुरुङ मार्ग निर्माण गर्ने सम्म योजनाहरु प्रथामिकतामा परेका छन् । अध्यादेश मार्फत बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सुर्खेत–दैलेख सडक घण्ड अन्तर्गत सियाकोट क्षेत्रमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने बताए । यस्तै बजेटमा सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न डिपिआर तयार गर्ने, दैलेखको चुप्रामा पेट्रोलियम पदार्थ उत्खनन २ बर्ष भित्रमा सम्पन्न गर्न बजेट विनियोजना गरिएको छ ।

सुर्खेतको चौरासेमा औद्योगिकग्राम स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, सल्यानमा अदुवा खेती, जुम्लामा स्याउ खेतीको लागि सम्भाव्यता अध्ययन गर्ने, काँक्रेविहार क्षेत्र, जुम्लाको चन्दनाथ क्षेत्रलाई धार्मीक क्षेत्रको रुपमा गुरुयोजना तयार गर्नको लागि बजेटको विनियोजना गरिएको छ ।
कर्णालीमा नेपाल सरकारले दिने अनुदानको खाद्यन्न ढुवानीको लागि ७६ करोड बढि बजेट विनियोजना गरिएको छ । प्रत्येक प्रदेशमा प्रादेशिक संग्राहालय स्थापना गरिने योजना अन्तर्गत वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गर्ने, जुम्लामा हाइअल्टिचुउट खेलकुद रंगशाला निर्माण गर्न योजना समेटिएका छन् ।

हाल सम्म पनि राष्ट्रिय राजमार्गले नछोएको हुम्लामा आगामि आर्थिक बर्षमा जोड्ने, सुर्खेत कोहलपुर सडक खण्ड, कर्णाली राजमार्ग, मुगु गमगडी सडक खण्डको स्तर अन्तति गर्ने बजेट विनियोजना भएको छ ।

यस्तै बेतन कर्णाली जलविद्युत आयोजना अन्तर्गत वित्तिय व्यवस्थापन गरी निर्माण गरिने, फुकोट कर्णाली, जगदुल्ल जलविद्युत आयोजनाको अध्ययन सम्पन्न गर्ने, सल्यानको सारदा, मुगुको सोरुकोट लगायतका ठाउँमा लिप्ट खानेपानी योजना जस्ता योजनाहरु सरकारले अघि सारेको छ ।

यस्तै सरकारले कोभिड–१९ महामारी नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ । बजेट वक्तव्यमा मन्त्री पौडेलले कोभिड १९ को रोकथाम र खोपका लागि बजेट अभाव नहुने पनि बताए । सबै अस्पतालमा उपचारको व्यवस्था गरिने बताउँदै पौडेलले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको बताए । पौडेलले १ सय शय्यामाथिका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट खोल्ने भएको छ । अक्सिजनका सामानमा पूरै भन्सार छुट गरिने उनले बताए ।

अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीको शुल्कमा ५० प्रतिशत छुट घोषणा उनले गरे । पौडेलले भेन्टिलेटरसहितका उपकरण खरिद गर्न ४ अर्ब बजेट छुट्याएको बताए । उनले स्वास्थ्य सामाग्री खरिदमा भन्सार महसुस छुट दिने बताए । पौडेलले स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्तासहित सुविधा दिने बताए ।

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पु¥याएको छ । भने स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जाको व्यवस्थापन गर्ने, पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार, विद्यार्थीहरुले ल्याप्टप किन्दा ८० हजार सम्मको कर्जाको व्यवस्था गर्ने लगायतका थुप्रै योजनाहरु अघि सारेको छ ।

यस्तै आगामी आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउने लक्ष्य निर्धारण गरेको छ । कोरोनाका विरुद्ध भ्याक्सिन वितरण गर्ने भएकोले अवस्था सामान्य बन्दै गई आर्थिक वृद्धिदर ६.५ प्रतिशतले पुग्ने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बक्तव्यमा उल्लेख गरिएको छ ।