एक लाखको सुशीला स्मृति छात्रवृत्ति कोष स्थापना

सुर्खेत । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएकी वीरेन्द्रनगर–४ हाल प्युठान, खलंगा निवासी सुशीला योगी (क्षेष्ठ)को स्मृतिमा एक लाखको छात्रवृत्ति कोष स्थापना गरिएको छ । ३५ वर्षको अल्पायुमै ज्यान गुमाएकी योगीका परिवारले एक लाखको ‘सुशीला स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् ।
आईतबार मृतकका बाबु लालबहादुर योगी, आमा शान्ता योगी तथा भाइ डा. सुशील योगीले वीरेन्द्रनगर–३ स्थित श्री जगन्नाथ–देवी प्राथमिक विद्यालयलाई एक लाखको चेक हस्तान्तरण गर्दै कोष स्थापना गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर सिंह तथा प्रधानाध्यापक मिठ्ठु के.सी. लाई संयुक्तरूपमा चेक हस्तान्तरण गरिएको हो ।
मृतक सुशीला योगी (श्रेष्ठ) बीएन स्वास्थ्यकर्मी थिइन् । काठमाडौंमा कोभिड–१९ बाट संक्रमित भई झापाको बिर्तामोडस्थित बी. एण्ड सी. अस्पतालमा सघन उपचार गराइरहेको अवस्थामा उनको जेठ पाँच गते निधन भएको थियो ।
उनको स्मृतिस्वरूप बाबुआमाले छोरीको नाममा विद्यालयमा अक्षय कोष स्थापना गरी कोषबाट प्राप्त हुने लाभांशलाई वार्षिक रूपमा गरीब तथा असहाय बालबालिकालाई छात्रवृत्ति स्वरूप प्रदान गर्ने मृतकका मामा तथा विद्यालयका सल्लाहकार बलभद्र भारतीले बताए । स्मरण रहोस् मृतकका स्वर्गवासी बाजेबज्यै समाजसेवी जगन्नाथ भारती तथा देवी भारतीले २०६३ सालमा ३ कठ्ठा ७ धुर जग्गा दानस्वरूप उक्त विद्यालय स्थापनाका लागि प्रदान गरेका थिए ।