२०८१, २१ बैशाख शुक्रबार

सुर्खेतमा निशुल्क एक महिने प्रशिक्षण हुने

photokkkkkus कुस्तीका पूर्व प्रमुख प्रशिक्षक तथा राष्ट्रिय कुस्ती संघका महासचिव मुमताजली इदृशी सुर्खेत आएका छन् । सातौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षण दिन इदृशी सुर्खेत आएका हुन् ।

सदरमुकाम वीरेन्द्रनगरमा सोमबारदेखि सुरु भएको प्रशिक्षण असोज १८ सम्म सञ्चालन हुने बताइएको छ । इच्छुक जो सुकैले व्यक्तिले निशुल्क रुपमा प्रशिक्षणमा सहभागी हुन पाउने प्रशिक्षक इदृशीले बताए । प्रशिक्षणको समयमा राम्रो प्रतिभा देखाउने खेलाडीलाई दशैँपछि नेपालगञ्जमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी गराइने उनले जनाए ।

उनका अनुसार क्षेत्रीय प्रतियोगिता बाट छनौट हुने खेलाडीले विराटनगरमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् भने राष्ट्रिय प्रतियोगिताबाट छनौट हुने खेलाडीले १३ औँ दक्षिण एशियाली प्रतियोगितामा समेत सहभागी हुन पाउनेछन् । सुर्खेतमा कुस्ती खेलाडीको राम्रो संभावना रहेको पनि प्रशिक्षक इदृशीले बताए । ‘सुर्खेतमा कुस्तीका लागि प्रतिभावान खेलाडीहरुको कमी छैन’, उनले भने,‘यहाँ अवसरको कमी छ ।’

जिल्ला कुस्ती संघका सचिव निर्मल विष्टले सुर्खेतमा कुस्तीको राम्रो संभावना हुँदाहुँदै खेलाडीहरुले उचित वातावरण नपाएको बताएका छन् । सचिव विष्टले जिल्ला खेलकुद विकास समितिले कुस्ती खेलाका लागि निश्चित ठाउँको समेत व्यवस्था गर्न नसकेको गुनासो गरे । छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा निर्मल विष्ट र सोनम रावतले सिल्ड जित्न सफल भएका थिए ।