२०८१, १९ बैशाख बुधबार

श्रीलङ्कालाई हराउँदै भारत एसिया कप च्याम्पियन

काठमाडौँ । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो ।

श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।

यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । श्रीलङ्काका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किए । त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रूपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रूपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए ।

यसैगरी पाँचौँ विकेटका रूपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ विकेटका रूपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौँ विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । उनले ३४ बलको सामना गरी तीन चौका हिर्काए । उनी श्रीलङ्काका लागि दोहोरो अङ्कमा रन बनाउने एकमात्र खेलाडी हुन् ।

यसैगरी आठौँ विकेटका रूपमा दुनिथ वेल्लालागे पेभेलियन फर्किएका थिए । उनले २१ बलको सामना गरी आठ रनमात्र बनाउन सके । श्रीलङ्काले नवौँ विकेटका रूपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए । श्रीलङ्काले अन्तिम विकेटका रूपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

श्रीलङ्काले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौँ, १२ रनमै छैटौँ, ३३ रनमा सातौँ, ४० रनमा आठौँ, ५० रनमा नवौँ र दसौँ विकेट पनि ५० रनमा गुमाएको थियो । श्रीलङ्काका माथिल्ला सातमध्ये ६ ब्याट्सम्यानलाई २९ वर्षीय सिराजले पेभेलियनको बाटो देखाएका थिए । उनले सात ओभरमा २१ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन पनि यही हो । श्रीलङ्काको पहिलो विकेट भने जसप्रित बुमराहले लिएका थिए । श्रीलङ्काको आठौँ विकेट हार्दिक पाण्डेयाले लिए । नवौँ र दसौँ विकेट पनि हार्दिकले नै लिए ।

एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन हो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३४।२ ओभरमा अलआउट भएको थियो ।

एसिया कपमा सबैभन्दा कम योगफलको अर्को खराब कीर्तिमान पनि बंगलादेशकै नाममा थियो । सन् १९८६ मा भएको एसिया कपमा पाकिस्तानविरुद्ध नै बंगलादेशी टोली ९४ रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा बंगलादेशी टोली ३५.३ ओभरमा अलआउट भएको थियो ।