२०८१, ७ बैशाख शुक्रबार

देशैभर कोरोनाविरुद्धको खोप आजबाट लगाईँदै, पहिलो चरणमा कर्णालीमा ११ हजार ७८० डोज

सुर्खेत । भारत सरकारबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको खोप नेपालमा आज (बुधबार)बाट लगाईदैछ । सात वटै प्रदेशबाट एकैदिन खोप लगाउन सुरु गरिने भएको छ । खोप देशका धेरैजसो क्षेत्रहरुमा पुगिसकेको छ । सरकारले पठाएको ११ हजार ७ सय ८० डोज मध्ये कर्णालीका ८ वटा जिल्लामा पुगिसकेको छ । डोल्पा र हुम्लामा बुधबार बिहानै पठाउन तयारी गरिएको छ ।

काठमाडौँबाट सुर्खेतमा सोमबार नै खोप आइसकेको छ । मेडिकल स्टोर नेपालगञ्जमा राखिएको खोप जुम्ला र मुगमा जहाज मार्फत र कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा स्थलमार्गबाट पठाइसकिएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

११ हजार ७ सय ८० डोज मध्ये सुर्खेतमा सबभन्दा बढी अर्थात् दुई हजार ७८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार ७०२, कालीकोटमा एक हजार २१, जाजरकोटमा एक हजार १०५, सल्यानमा एक हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँड गरिएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाउने बताइएको छ । खोप कोरोना नियन्त्रणका लागि अंग्रपंक्तिमा खटिएकामध्ये इच्छुकले मात्रै खोप लगाउन सकिनेछ । पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो खोप लगाइने निर्देशनालयका निर्देशक डा.रबिन खड्काले जानकारी दिए ।

बुधबार बिहान १० बजेबाट प्रदेशभरका १२ वटा अस्पतालबाट खोप लगाउन सुरु गरिने उनको भनाई छ । आठवटा जिल्ला अस्पताल, दुईवटा सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताल गरी १२ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने छ । ती अस्पतालमा ‘कोरोना खोप केन्द्र’ तोकिएको छ ।

निर्देशनालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, प्रदेश अस्पताल सुर्खेत, मेहलकुना सामुदायिक अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमबाट कोरोनाविरुद्धको खोप लगाइने छ । त्यस्तै मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेखमा रहेका जिल्ला अस्पतालहरूबाट पनि कोरोनाविरुद्धको खोप लगाइने निर्देशक डा. खड्काले जानकारी दिए ।

कर्णालीमा पहिलो चरणको खोप ७ देखि १० दिन भित्र लगाईसक्ने तयारी गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि खोप संयोजकमा डा. अनुज भट्टचनलाई नियुक्त गरिसकेको छ ।