कर्णाली प्रदेश एक महिनादेखि प्रमुख सचिवविहीन,सिंहदरबारमा तीन सचिवले पाएनन् जिम्मेवारी
काठमाडौं, ८ भदौं । कोरोना संकटका बेला कर्णाली प्रदेश एक महिनादेखि प्रमुख सचिवविहीन छ । यस्तै, प्रधानमन्त्री कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गरी दुई सचिव पद रिक्त रहँदा सिंहदरबारमा तीनजना सचिवलाई भने जिम्मेवारविहीन राखिएको छ ।
सचिवहरू केदार न्यौपाने, मधु मरासनी र वीरबहादुर राईलाई जिम्मेवारीविहीन राखिएको हो । अतिरिक्त समूहमा रहेका उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर गर्दै आएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहेका न्यौपानेलाई एक महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरियो । र, न्यौपानेको ठाउँमा गत ५ साउनमा कर्णालीका प्रमुख सचिव टेकनारायण पाण्डेलाई ल्याइयो । पाण्डेको ठाउँमा भने कसैलाई पठाइएको छैन ।
यस्तै, ८ र १५ साउनमा सचिव बढुवा भएका मरासनी र राईलाई जिम्मेवारी तोकिएको छैन । राईले १५ भदौदेखि अवकाश पाउन लागेकाले उनलाई जिम्मेवारी नदिइएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । ‘यदि जिम्मेवारी दिनु थिएन भने किन वरीयता मिचेर उनलाई सचिवमा बढुवा गरियो रु’ एक सहसचिव भन्छन्, ‘पेन्सन बढाउनकै लागि मात्र सचिव बनाएजस्तो देखिन्छ ।’
सरकारको सचिव पद रिक्त भएपछिलोकसेवा आयोगका अध्यक्ष नेतृत्वको समितिले वरिष्ठताका आधारमा बढुवा सिफारिस गर्छ । सामान्यतया १ नम्बरमा सिफारिस व्यक्ति सचिवमा बढुवा हुन्छन् । तर, एक नम्बरमा सिफारिस हुँदै आएका गोकर्णमणि दुवाडी पाँचपटकसम्म बढुवामा परेका छैनन् । उनीभन्दा कनिष्ठ भने बढुवा हुँदै आएका छन् ।
