यस्तो छ कोरोना संक्रमित कांग्रेस नेता जीवनबहादुर शाहीको दैनिकी
कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको असार २८ गते स्वाब संकलन गरियो ।
जहाजमा हुम्ला जानु पर्ने र उक्त जहाजले पिसिआर रिर्पोट मागेपछि उनी पिसिआर जाँच गराउन गएका थिए । २९ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भयो । उनीसँगै चौविसै घण्टा बस्दै आइरहेका उनका स्वकीय सचिव राज रोकायामा कोरोना नेगेटिभ देखियो । उनी कोरोना संक्रमति भएको आज आठौं दिन हो । हाल उनको स्वास्थ्य स्थिति सामान्य छ ।
सुरुमा मिडियामा आउन नचाहेका शाही शाही विभिन्न मिडियामा बारम्बार समाचार र तस्विर सार्वजनिक भएपछि उनी अहिले खुलेर मिडिया सामु आउन थालेका हुन । लोकान्तरसँग कुराकानी गर्दै नेता शाही आफूमा कोरोना संक्रमण भएको सन्देश बाहिर जाँदा जनमानसमा नकारात्मक प्रभाव पर्छ कि भन्ने ठानेर सार्वजनिक नभएको बताउँछन् ।
‘सबै कार्यकर्ता, नेतामा कोरोना त्रास फैलिन्छ कि भनेर प्रचार गर्न खोजेको थिएन,’ उनले भने, ‘सबैले थाहा पाइसकेपछि आजकाल दैनिक रुपमा फोन रिसिभ गर्नेकाम गरिरहेको छु ।’
यस्तो छ उनको दैनिकी
कर्णाली प्रदेशका प्रभावशाली नेता शाही पूर्व मन्त्रीसमेत हुन । उनका स्वकीय सचिव रोकायाले नेता शाहीको दैनिकीको यसरी व्याख्या गरे ।
‘उहाँ विहान पाँच बजे उठ्नुहुन्छ । नियमित एक्सरसाइज, योगा व्यायाम गर्नु हुन्छ । त्यसपछि नुहाउने काम गर्ने गर्नुहुन्छ । बेलुका पनि एक घण्टा नियमित व्यायाम गर्ने, ध्यान गर्ने गर्नुहुन्छ । दिउसो पार्टी काममा उहाँ फर्किसक्नु भएको छ । फोनहरु रिसिभ गर्ने, आवश्यक निर्देशन दिने, कार्यकर्ताको मनोबल उच्च बनाउने कामहरु फोनमार्फत गर्दै आउनु भएको छ ।’
उनी थप्छन् – ‘खाना नियमित रूपमा खाइरहनुभएको छ । कोरोना संक्रमण हुनुभन्दा पहिलेकै खाना खाइरहनुभएको छ । खानाको रुचिमा तलमाथि भएको छैन । बिहान ब्रेकफास्ट, त्यसपछि दाल र भात, अनि बेलुका रोटी तरकारी खाइरहनु भएको छ । कोरोना संक्रमण भएको शुरूका दिनमा मनोबल उच्च थियो । दोश्रो दिनमा उहाँ केही तनावमा जानु भयो । त्यसरी तनावामा जानुको एकमात्र कारण घरपरिवारको चिन्ता, कार्यकर्ताको चिन्ता नै थियो । मिडियामा तस्वीरसहित समाचार प्रकाशन भएपछि केहि तनाव भएको हो । तर अहिलेसम्म उहाँको स्वास्थ्यमा केही पनि समस्या आएको छैन । उल्टै हामीलाई सम्झाइरहनु भएको छ ।’
नेता शाहीले इम्युनिटी ताकत बढाउनतिरै बढी ध्यान दिएका छन् । मह, गुर्जो, अदुवापानी, हल्दीपानी, लसुनपानी नियमित प्रयोग गरिरहेका छन् । हुम्लाबाट जडिबुटी पठाइएको छ ती सबैको प्रयोग निरन्तर गरिरहेका छन् । इम्युनिटी पावर बढाउन र गला सफा गर्न दैनिक चार पटक तातो बाफ लिइरहेका छन् । स्वास्थ्यमा कुनैपनि समस्या नआएका कारण अहिलेसम्म स्वास्थ्य जाँच गर्न गरेका छैनन् ।
‘कोरोना संक्रमण देखिँदा वित्तिकै हामी पनि आत्तिएका थियौं । तर उहाँले हामीलाई उल्टो सम्झाइरहनु भएको थियो । सुगर प्रेसरको औषधी नियमित लिइरहनु भएको छ । नागरिकसँग चाँडै जिल्लामा आउँछु भनेर भनिरहनु भएको छ,’ रोकायाले उनको दैनिकी लोकान्तरलाई सुनाए ।
यता नेता शाहीले कोरोना संक्रमण त्यति खतरनाक रोग प्रचार गरिए जस्तो नभएको बताए । ‘जसरी अफवाह फैलाइएको थियो त्यस्तो रहेनछ यो नियमित रोग जस्तै रहेछ । यसले मानसिक रुपमा मात्रै टाढा बनाउने रहेछ,’ उनले भने, ‘नियमित व्यायाम गर्न आवश्यक छ । जतिधेरै व्यायाम गर्यो त्यति नै राम्रो हुने रहेछ । कोरोना आतंक विश्वमा हल्लाको आधारमा फैलाइएको हो कि जस्तो मलाई लागेको छ ।’
उनले कोरोना संक्रमण फैलिने प्रणाली पनि अनौठो रहेको बताए । ‘मलाई कसरी संक्रमण भयो थाहै भएन । मेरो सम्पर्कमा आएका सयौं जनामा कोरोना देखिएन । अहिले घरमा पहिले जस्तै बसिरहेका छौं । छुनै हुन्न भन्ने भावना गलत रहेछ,’ उनले भने, ‘दशौं या एघारौं दिनमा स्वाव जाँच गर्ने सल्लाह भएको छ । त्यसपछि म उक्त नतिजा हेरेर गाउँ जाँने योजनामा छु ।’
उनले कोरोना लाग्नु कुनै जुनिको पाप नभएको बताउँदै समाजमा कोरोना संक्रमित भएका व्यक्तिलाई सहज रुपमा लैजान आग्रह गरे । ‘कोरोना संक्रमित व्यक्ति भनेपछि एक खालको बन्देज समाजमा छ । उसलाई हेर्ने नजर फरक छ । माया बढि चाहिने, सहयोग बढी चाहिने समयमा उसलाई एक्लै बनाउनु पर्ने संरचना निर्माण गरिएको छ । यो राम्रो होइन,’ उनले भने, ‘म बाहिर मात्रै आएको छैन । अन्य सबै काम गरिरहेको छु । समाजले कोरोनालाई रुघाखाकी जस्तै गरी लिन आवश्यक छ ।’