२०८१, ८ बैशाख शनिबार

तीन हप्तामै बन्यो दैलेखमा आइसोलेसन अस्पताल

तीन हप्तामै बन्यो दैलेखमा आइसोलेसन अस्पताल
दैलेखमा निर्माण सम्पन्न भएको आइसोलेसन अस्पताल । तस्बिर : हिक्मतबहादुर नेपाली

दैलेख : दैलेखमा आइसोलेसन अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरस रोग संक्रमितको उपचारका लागि दैलेख सदरमुकामस्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा अस्पताल निर्माण गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी अस्पताल बनाइएको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि निर्माण थालिएको अस्पताल तीन हप्तामा सकिएको निर्माण कम्पनीले जनाएको छ ।

एक पटकमा ५० जनाको उपचार गर्ने गरी आइसोलेसन अस्पताल बनाइएको छ । पाँचवटा प्रिफेप भवन निर्माण भएका छन् । कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाको सांसद क्षेत्र विकास कार्यक्रमको बजेटबाट अस्पताल निर्माण गरिएको हो ।

झण्डै ७२ लाखको लागतमा अस्पताल निर्माण पूरा भएको सांसद थापाले बताए । आर्थीक वर्ष २०७६÷०७७ को बजेटबाट ५५ लाख रुपैयाँ भुक्तानी हुन्छ, सांसद थापाले भने,  ‘बाँकी रकम आगानी आर्थीक वर्ष २०७७/०७८ मा भुक्तानी हुनेछ ।’
अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी पूरा भएको सांसद थापाले जनाए ।  आइसोलेसनका लागि आवश्यक अक्सिजनलगायतका अरु उपकरण भने व्यवस्थापन हुन बाँकी छन् ।

अस्पताल निर्माणका लागि जेसीका एण्ड अभियान कन्ट्रक्सन प्राली दैलेखले जिम्मा पाएको थियो । प्रिफेप भवन निर्माणका लागि लकडाउनमै काठमाडौं र चितवनबाट सामग्री ल्याउनुपर्ने भएकाले ढुवानीमा समस्या झेल्नुपरेको कन्ट्रक्सनका सञ्चालन प्रकाश बुढाले बताए । जनशक्ति अभावकै बीचमा तीन हप्तामै अस्पताल निर्माण सकिएको बुढाले बताए ।

आइसोलेसनमा अहिले नारायण नगरपालिकाका पाँचजना कोरोना संक्रमित उपचाररत छन् ।  आइसोलेसनमा चिकित्सकसहितको टोली परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. निरञ्जन पन्तले बताए । बिहीबारसम्म दैलेखमा कोरोना संक्रमितको संख्या आठ सय ४ पुगेको छ।  ती मध्ये ७ सय ६७ जना डिस्चार्ज भइसकेका छन् ।