घाटगाउँका कृषक भन्छन्ः टनेल दियौ, सिँचाई देऊ
सुर्खेत, २१ असार ।
चैौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा अहिले सम्म कसैले पनि तरकारी खेति गरेका थिएनन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दलित जनजाती लक्षित कार्यक्रम अन्र्तगत ४० लाख रुपैंया बराबरको कार्यक्रम उपसभामुख पुष्पा विष्ट घर्ती मगरले चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँ छनौट गरिन । उनले छनौट गरेको घाटगाउँमा तीन सय घरधुरी छन् । त्यतिमध्ये साठी प्रतिशत घरधुरी दलित समुदायका छन् । ती दलित समूदायका पचास प्रतिशत नागरिक ज्याला मजदुरी गर्नका लागि भारतका विभिन्न शहरमा काम गर्न जाने परम्परा कायमै छ । सोही परम्परा तोडनकालागि भन्दै कृषकलाई कृषि पेशामा आकर्षण गर्न यो गाउँ छनौट गरिएको उपसभामुख घर्तीले बताईन ।
यहाँका अधिकांश नागरिक भारतका काम गर्न जाने र कृषि उत्पादनले तीन महिना पनि खान नपुग्ने भएका कारण यो स्थान छानेको हो । उनी भन्छिन्, कम्तिमा यहाँका नागरिकले तरकारी खान सिकुन, बालबच्चाले पोषण पाउन र कुपोषित हुन नपरोस भन्ने ध्येयका साथ कार्यक्रम दलित समूदायका लागि भनेर सुरु भएको हो ।
कार्यक्रमले घाटगाउँका २० घरमा तरकारी टनेल निर्माण गरिएको छ भने ६ घरमा ३५ वटाका दले लोकल कुखुरा पालन सुरु भएको छ । ३२ घरमा दुइ वटा वोयर जातका पाठाका दरले चौसट्ठी वटा पाठी र दुइ वटा बोयर जातको बोका वितरण गरिएको छ ।
‘गाउँमा तरकारीबाट जीविकोेपार्जन गर्न सकिन्छ भन्ने बुझाइ थिएन । तरकारीबाट पनि सजिलै आन्दानी लिन सकिने रहेछ’ कृषक देउसरी विकले भनिन्, ‘तर तरकारी उत्पादनका लागि सिचाइँ सुविधाको अभाव छ । तरकारी टनेल पायौं अब सिचाइँ समस्या समाधानका लागि पनि पहल गरियोस ।’ सिचाइँ समस्या र तरकारीमा रोग किराको प्रकोपले टनेलमै कांख्रा कुहिएको उनको भनाइ छ । उनी जस्तै गाउँमा तरकारी फलाउने सबै कृषकले सिचाइँको समस्या भएको बताउँदै सम्बन्धित निकायसँग सिचाइँ योजना माग गरेका हुन् ।
कृषक प्रदिप नेपालीले आम्दानीका लागि व्यवसायीक रुपमा बाख्रा पालन गरेमा कामका लागि भारत जान नपर्ने बताए । अब आफूले खेति गर्ने र तरकारी उत्पादन गर्ने भन्दै उनले कार्यक्रम राखेकोमा सरकारलाई धन्यवाद दिए ।
कृषि विकास निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले अपेक्षा अनुसार काम गर्न अनुरोध गरे । २० वटा बाख्रा, एक बोयर बोका, ३५ कुखुरा खोज्न र भुक्तानीकालागि कार्यालयमा आउन उनको आग्रह थियो ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कृषकका मागका आधारमा कार्यक्रम सञ्चालन भएको बताए । उनले सिचाइँको अभाव भएको बताउँदै भेरीको पानी ल्याउन १४ करोडको योजना बनाएको बताए । ‘प्रदेश सरकारले पनि हामीलाई सहयोग गरेको छ । यो गाउँमा लिफ्ट सिचाइँ योजनाको तयारी छ । ९ लाख रकम गाउँपालिकाले खर्च गरि ट्याकंी बनाइसक्यो । बाँकी नौ लाख रुपैंयाको ट्यांकी निर्माणका लागि बजेट विनियोजन गरेका छौं ।’