२०८१, २१ बैशाख शुक्रबार

रुकुमको चौरजहारी नगरपालिकाले ल्यायो पिसिआर मेसिन

रुकुम : कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पिसिआर मेसिन खरिद गरेको छ। क्वारेन्टाइनमा बसेकाको स्वाब प्रदेश राजधानी सुर्खेत र दाङलगायत जिल्लामा पठाउनुपर्ने र स्वाब पठाएको हप्तौंसम्म पनि रिपोर्ट आउन ढिला बाध्यता अब हट्ने बताइएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएको टोलीले मेसिन जडानको काम गरिरहेको र छिट्टै परीक्षणको काम हुने नगरपालिका प्रमुख विशाल शर्माले बताए। उनका अनुसार उक्त मेसिन १ करोड २३ लाख रुपैयाँमा ल्याइएको हो।

मेसिन संचालनमा आएपछि रुकुम, सल्यान, जाजरकोट र डोल्पा जिल्लाबाट संकलन भएका स्वाब परीक्षण गरी छिटो छरितो रिपोर्ट आउने बताइएको छ। जिल्ला आयुर्वेदिक अस्पतालको भवनमा जडान गर्न लागिएको उक्त मेसिनबाट दैनिक ९६ जनाको स्वाब परीक्षण गर्न सकिने अनुमान गरिएको छ।