२०८१, २१ बैशाख शुक्रबार

जनार्दन शर्मा भन्छन्- सिमानाका जनता नै सबैभन्दा ठूला पिलर हुन्

नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले सिमानाका जनता नै सबैभन्दा ठूला पिलर रहेको बताएका छन्।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्दै सद्स्य शर्माले बिओपीले मात्र सीमा रक्षा नहुने बताए।

‘सीमा रक्षाका लागि मुलत सिमानाका जनता नै हाम्रा मुल आधार (पिलर) हुन्। ती जनताको दैनिक जीवन सञ्चालनको सुविधा र सुरक्षाको ग्यारेन्टी हुनेगरी सरकारले नीति तथा योजना बनाउनु पर्छ,’ शर्माले भने, ‘बिओपीले मात्र सीमा रक्षा हुँदैन जनतालाई पनि जोडनु पर्छ।’

अहिले अरु पर्खालभन्दा डिजिटल पर्खाल बनाउन जरुरी रहेकाे र यसले मात्रै देशको सुरक्षा सम्वेदनशीलतालाई समेत सम्बोधन गर्ने उनकाे भनाइ छ।

दुई देशका जनताबीचको सम्बन्ध, आवश्यकता र व्यवहारलाई विश्लेषण गर्नुपर्ने भन्दै उनले जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै सरकारको गलत रबैया र हर्कतको विरोध गर्नुपर्ने बताए।

उनले समाजवादी सिद्धान्तका आधारमा योजनाबद्ध ढंगले उत्पादक शक्तिको विकास गर्दै उत्पादनका साधनमाथि सामुदायिक र सामाजिक स्वामित्व स्थापना गर्ने बाटो अपनाउनुपर्ने बताए।

कालापानी क्षेत्रमा पूर्ण स्वामित्व कायम गर्न राजनैतिक र कुटनैतिक संवाद नै मुख्य माध्यम रहेकाे उनको भनाइ छ।

‘हामीले हासिल गरेको राष्ट्रिय एकता जनतामा आएको उत्साहलाई कायम राख्न केही सर्तहरू छन त्यो भनेको हाम्रो पार्टीको आन्तरिक एकता हो, उनले भने ‘त्यो एकताका लागि हामी आआफ्नो अहम छाडेर रुपान्तरित हुन जरुरी छ।’

राष्ट्रको भविष्य रुपान्तरणका साथ एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले रुपान्तरणका लागि पार्टीभित्र बहस, छ्लफल,आत्मालोचना र संघर्ष आवश्यक रहेको बताए।

‘कुर्सी फेरेर समस्या समाधान हुँदैन चिन्तन बदल्नु पर्दछ, आजको बस्तुगत परिस्थितिअनुरुप जनता र देशको आवाज अनुसार आफैलाइ फेर्नु पर्छ’ उनले भने, ‘मुख्यगरी नेतृत्व टिमले त्यसमा पनि प्रमुख नेतृत्वले सही ढङ्गले सोच्नु पर्छ र व्यवहार गर्नु पर्छ। राष्ट्र र जनता नै मुख्य कुरा हो।’

सम्बन्धित समाचार