२०८३, १७ असार बुधबार

कोरोना भन्दा भयावह बन्दै आत्महत्या कर्णालीमा, लकडाउनमै करिब सयको मृत्यू

सुर्खेत, १ असार ।
कर्णाली प्रदेशमा कोरोना कोभिड १९ भन्दा आत्महत्या भयावह बन्दै गइरहेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार यस्तो देखिएको हो । कर्णालीमा कोरोना जेठ पाँच गते दैलेखको आठबीस नगरपालिका वडा नं. एकमा कोरोना देखिएको थियो । सरकारले कोरोनाको त्रासका कारण चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरियो । त्यो अवधि देखि हालसम्म सुर्खेतमा एक जना, डोल्पाका एक जना र दैलेखका एक जनाको मृत्यू पछि कोरोना पुष्टि भयो । उनीहरु सबै अन्य रोगका कारण मृत्यू भएपनि कोरोना पुष्टि भएपछि कोरोनाकै कारण ज्यान गएको तथ्यांकमा सरकारले नाम चढायो । यहि अवधिमा प्रदेशभरिमा आत्महत्या गर्ने क्रम भने रोकिएन ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतका अनुसार कर्णालीमा जेठ मसान्तसम्म ७९ जनाले आत्महत्या गरेका छन् । ‘सुर्खेतमा १६ महिला ८, बालक ४, बालिका पाँच गरी ३३ जनाले आत्महत्या गरेका छन् । दैलेखमा ७ पुरुष ६ महिला १ बालक एक बालिका गरी जम्मा १५ जनाले आत्महत्या गरेका छन् ।’ उनले भने, ‘रुकुममा दुइ पुरुष ४ महिला बालक एकसहित सात जना, सल्यानमा १२ पुरुष ७ महिला एक बालक गरी जम्मा २० जना, जुम्लाका २ पुरुष, बालक एक गरी तीन जना र डोल्पामा एक महिलाले आत्महत्या गरेका छन् ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार चैत १२ गते देखि हालसम्म ३६ जनाले सुर्खेतमा आत्महत्या गरेका छन् ।
‘यो अवधिमा चौध जना पुरुष, ६ जना महिला र ९ जना बालबालिकाले झुण्डिएर आत्महत्या गरेका छन् । ६ जना पुरुष र एक महिलाले विष सेवन गरि आत्महत्या गरेका छन् ।’ उनले भने, ‘कोही गरिबीका कारण, कोही मानसिक तनाव, कोही चेतनाको कारण मृत्यू भएका छन् ।’ उनले सबैभन्दा पहिले हरेक व्यक्ति आफैं मर्नु हूँदैन भन्ने बारे सचेत हुनुपर्ने बताउँछन् । ‘मानिस सबैभन्दा सचेत प्राणी हो । आफूले आफैंलाई मार्नु हुँदैन भन्ने थाहा पाउनु पर्ने हो ।’ उनी भन्छन्, ‘जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ । मैले के गर्न हुने के नहुने भन्नेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्ने मैले देखेको छु ।’
१४ बालबालिकाले गरे आत्महत्या
लकडाउनको अवधिमा १४ जना बालबालिकाले आत्महत्या गरेका छन् । बालबालिकाले आत्महत्या गर्नुको कारण खासै खुल्न नसकेको प्रहरी श्रोतको भनाई छ । ‘कोही प्रेममा असफल भएको, बुवा आमाले रिसाएका कारण आत्महत्या गर्ने गरेको विगतमा देखिएको छ । अहिले यी घटनामा के कारणले आत्महत्या गरेका हुन भन्ने कुरा विस्तारै खुल्दै जाला ।’ श्रोत भन्छ, ‘अभिभावकले उचित शिक्षा नदिएका कारण बालबालिकाले आत्महत्या गरिरहेका छन् ।’