२०८१, २० बैशाख बिहीबार

कर्णालीमा निजी क्षेत्रको औषधी गर्नेखालको बजेटको बहस

 

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १ गते बिहान ११ बजे प्रदेश सभामा बजेट ल्याउने तयारी गरेको छ । कर्णाली कोरोनाको भयावह चक्रव्यूहमा फसिँरहेको समयमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८का लागि बजेट प्रदेश सभामा प्रस्तुत गर्नेछन् ।

सरकारले ल्याउने बजेट कार्यान्वयन नहुने रोग विगत देखि जारी हुने र बजेट जतिसुकै राम्रो ल्याएपनि त्यसले खासै प्रभाव नपार्ने सत्तारुढ दलकै सांसदहरुले आरोप लगाइरहेका छन् । महिला तथा बालबालिकाका समस्या, गरिबी, भोकमरी, अभाव, स्वास्थ्य क्षेत्रको विकास जस्ता चुनौती खेप्दै आइरहेको व्यवसायीहरूको गुनासो छ ।

‘वास्तवमा भन्ने हो भने सरकारका लागि निजी क्षेत्र दुहुनो गाई हो । करिब तीन महिनादेखि दुहुनो गाई थला परेको छ, बिरामी भएको छ । संघीय सरकारले त उक्त गाईको उपचार गर्न चाहेन तर कर्णाली प्रदेश सरकारले उपचार गर्छ कि भन्ने आशा हामी निजी क्षेत्रले बोकेका छ,’ उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भने ।

उनले अर्थतन्त्रको अवस्था डामाडोल रहेको बताए । ‘व्यवसायीलाई राहत पुग्ने खालको, रोजगारी सिर्जना हुने, पूँजीगत खर्च समयमै गर्न सक्ने खालको बजेट आओस् । अहिले हाम्रा लागि आर्थिक लकडाउन भयो । उद्योगी व्यवसायी निराश छौं । उत्साह थप्ने बजेट आओस्,’ उनले थपे ।

उनले बिरामी संस्था भएको खण्डमा रोजगारीका अवसर सिर्जना नहुने बताउँदै निजी क्षेत्रलाई हतोत्साहित हुने भन्दा उत्साहित हुने बजेट ल्याउनु पर्ने, व्यवसायीलाई राहत पुग्ने खालको बजेट ल्याउनु पर्ने माग गरे ।

सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्रकुमार केसीले बजेटको सम्पूर्ण ध्यान कोरोना र आर्थिक विकासमा जानुपर्ने सुझाव दिए । ‘अहिले कर्णालीमा कोरोनाले भयावह अवस्था आउने देखियो,’ उनले भने, ‘सम्भव भएसम्म स्वास्थ्यकर्मी थप्ने, आइसोलेसन व्यवस्थित गर्ने,  कोरोनासँग सम्बन्धित एम्बुलेन्स, स्वास्थ्य सामाग्रीहरु थप्ने काम गर्न आवश्यक छ ।’

उनले एक जिल्ला एक अस्पताललाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । ‘अहिले कर्णालीमा लाखौंको संख्यामा तेस्रो देश तथा भारतबाट नागरिक आएका छन् । उनीहरुलाई कृषिमा जोड्न आवश्यक छ । कृषि प्रर्वद्धनसँग सम्वन्धित कार्यक्रम राज्यले ल्याओस्,’ उनले लोकान्तरसँग भने ।

विदेश जाने व्यक्तिलाई कर्णालीमै आय आर्जन, आर्थिक विकास, कृषिको आधुनिकीकरण लगायतका क्षेत्रलाई समेटेर सरकारले बजेट ल्याउनुपर्नेमा उनको जोड छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मीले कर्णाली सरकारको कोरोना महामारीको समयमा भूमिका शून्य देखिएको बताए ।

‘संक्रमण न्यून गर्नका लागि धेरै मेसिन खरिद गरी धेरै नागरिकको जाँच गरेर जनतालाई आशा जगाउने काम गर्न सकेको छैन । क्वारेन्टाईन व्यवस्थापन भएन, नियमनुसार न्यूनतम मापदण्ड अनुसार आइसोलेसन वार्ड बनेका छैनन् । जनताले दुःख पाएका छन्,’ उनले भने ।

उनले सदनमा काँग्रेसँग छलफल गरेको नगरेको आफूलाई थाहा नभएको बताउँदै कम्तीमा राजनीतिक दलसँग समन्वय गरेर, छलफल गरेर बजेट ल्याएको भए राम्रो हुने सुझाव दिए ।