सुर्खेतमा प्रजिअ बनेर रेग्मी आउँदै, सुर्खेतवासीलाई सन्तुष्ट पार्ने प्रतिबद्धता
सुर्खेत, १९ जेठ ।
सुर्खेत जिल्लाको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालय अन्र्तगत रहेको विपद जोखिम न्यूनिकरण कार्यालयमा कार्यरत हिरालाल रेग्मीको सरुवा भएको छ । अहिले कार्यरत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा भएको हो । प्रादेशिक राजधानीसमेत भएको सुर्खेतमा शान्ति सुरक्षा, कालोबजारी बढदै्र गइरहेको र नियन्त्रण गर्न नसकेको भन्ने आरोप लागिरहेको समयमा रेग्मी प्रमुख जिल्ला अधिकारीका रुपमा सुर्खेत आउन लागेका हुन । ‘सकेसम्म जिल्ला वासीलाई खुशी पार्ने प्रयास गर्ने छु । शान्ति सुरक्षा, अमनचयन कायम गराउन भूमिका खेल्नेछु ।’ उनले भने, ‘म आफैं पनि स्थानीय वासी भएका नाताले पनि अधिकार क्षेत्र भित्र रहि सबैलाई खुशी बनाउने प्रयास गर्नेछु । सबेको साथ, सहयोग र सल्लाह पाउनेमा म आशावादी छु ।’
उनले प्रदेश सरकार, स्थानीय सरकारसँग सहकार्य गर्दै आफू अघि बढने बताए । ‘सुर्खेतलाई राम्रो, सुरक्षित र गर्वगर्न लायक जिल्ला बनाउन मेरो प्रयास रहनेछ ।’ उनले भने, ‘यसकालागि प्रदेश सरकार, स्थानीय सरकारसँग मेरो सहकार्य, समन्वय हुनेछ ।’

