कोरोना तीव्र रुपमा फैलिदै गएपछि बल्ल कर्णाली सरकार एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्दै
सुर्खेत, १९ जेठ ।
प्रदेश प्रकोप व्यवस्थापन केन्द्रको बैठकले हरेक जिल्ला अस्पतालमा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्ने जिल्ला विपद व्यवस्थापन समितिलाई लेखी पठाउने निर्णय गरेको छ । आइतबार बसेको केन्द्को बैठकले संक्रमित विरामीलाई आइसोलेसन र थप उपचारका लागि अस्पताल पु¥याउन तथा मृतक संक्रमितको शव व्यवस्थापन गर्न एम्बुलेन्स र शव वाहनको व्यवस्थापनका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई लेखि पठाउने निर्णय भएको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले नयाँ नेपाललाई बताए । ‘केन्द्रको आइतबार बसेको बैठकले एम्बुलेन्स र शववाहन तत्कालका लागि भाडामा लिन लेखि पठाएका छौं ।’ मन्त्री ज्वालाले भने, ‘त्यसकालागि आवश्यक बजेट विपद कोषमा पनि पठाएका छौं । नपुग भए मन्त्रालयले व्यवस्थापन गर्नेछ । उनीहरुले तत्कालकालागि भाडामा ति साधन लिनेछन भने त्यसपछि नयाँ खरिद गर्न पनि सक्नेछन् ।’
बैठकले संघीय सरकारसँग विभिन्न निर्णय गर्न माग गरि लेखि पठाएको छ । ‘हुम्ला र डोल्पाको माथिल्लो भेगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तिब्बततर्फबाट हुने ढुवानीमा समस्या भएका कारण बैकल्पिक व्यवस्था हुन नेपाल सरकारलाई लेखि पठाउने निर्णय भएको छ । हुम्ला, डोल्पा, जुम्ला र मुगु जिल्लामा यो निर्णय गरुन्जेल कोरोना संक्रमित नदेखिएकाले जेठ २५ गतेदेखि यार्सागुम्बा संकलनको कार्य खुला गर्ने र भारतबाट आएका नागरिकलाई त्यहाँ प्रवेश नदिने गरि उक्त निर्णय गर्न अनुरोध गरेका छौं ।’ मन्त्री ज्वालाले भने, ‘कोरोना नदेखिएका जिल्लामा आवश्यक सुरक्षा सावधानीसहित विद्यालय सञ्चालन गर्ने निर्णय हुन कोभिड १९ विपद व्यवस्थापन कार्य सञ्चालन केन्द्र र नेपाल सरकारलाई लेखि पठाउन अनुरोध गर्ने निर्णय भएको छ ।’

