दैलेखमा एक युवाको मृत्यू पछि क्वारेन्टाईनमा बसेका नागरिक आतंकित, न मास्क दिइयो न स्यानीटाईजर
सुर्खेत, १७ चैत ।
कर्णाली प्रदेशका स्थानीय पालिकामा निर्माण गरिएको भनिएका क्वारेन्टाईन नाम मात्रका देखिएका छन् । सामुदायिक विद्यालय भवनको प्रयोग गर्दै आइरहेको स्थानीय पालिकाहरुमा भारतबाट आउने नागरिकको संख्या बढदै गएपछि खुला चौरमा पाल टाँगेर क्वारेन्टाईन निर्माण गर्न थालिएको छ । दैलेखका अधिकांश स्थानीय तहमा रहेका विद्यालय भारतबाट आएका नागरिकहरुले भरिभराउ भएका छन् भने एकै कोठामा सामाजिक दुरी कायम गर्नु भन्दा पनि कोचाकोच गरेर राखिएको पाइएको हो ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका सातमा विद्युत प्राधिकरणको भवनमा शनिबार विहान एक युवाको मृत्यू भएपछि क्वारेन्टाईनमा बसेकाहरु आतंकित भएका छन् ।
‘हामीमा अहिले अत्यन्तै त्रासको बातावरण बनेको छ । एक जना युवा हाम्रै आँखा अगाडी वित्नु भएको छ ।’ दुल्लु नगरपालिका ८ का सन्देशसिंह ठकुरीले भने, ‘न यहाँ पर्याप्त पानीको व्यवस्था छ, न मास्क दिइएको छ न त स्यानीटाईजर नै उपलब्ध गराइएको छ ।’ दुइ छाक खाना र एक पटक नास्ता भने पाइरहेको उनको भनाई छ । ‘गोठमा हुले जसरी हामीलाई यहाँ राखिएको छ । सुरक्षा सावधानी बारे कसैले केहि जानकारी दिएका छैनन् । स्वास्थ्यकर्मी कोही पनि यहाँ आएका छैनन् ।’ पाँच दिन अघि मात्रै उक्त क्वारेन्टाईनमा बस्न आएका ठकुरीले आक्रोश पोख्दै भने, ‘कम्तिमा हामीलाई कोरोनाबारे जनचेतना दिने, पानीको व्यवस्था गर्ने र सामाजिक दुरी सहितको बसाई व्यवस्थापन गर्नु पर्ने थियो । यसतर्फ कसैले पनि सोचेका छैनन् ।’
त्यहि क्वारेन्टाईनमा बस्दै आइरहेका अर्का युवाले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामीलाई कम्तिमा नागरिक जसरी व्यवहार गरिनु पथ्र्यो ।’ अहिलेसम्म केहि पनि जाँच नभएको उनको भनाई छ । ‘क्वारेन्टाईनमा बसेकाहरुको नियमित स्वास्थ्य जाँच गर्ने भन्ने कुरा सुनेका थियौं ।’ उनले भने, ‘आज एक जनाको मृत्यू भएपछि मात्रै हामीले स्वास्थ्यकर्मी देख्न पाएका छौं । न सुरक्षा छ न त सहि व्यवस्थापन छ ।’ युवाको मृत्यू भइसकेपछि के कारणले भएको हो भन्नेमा आफुहरु त्रसित बनिरहेको उनको गुनासो छ ।
दैलेखको ठाँटीकाँध गाउँपालिका–५ चिउरीखेतमा निर्माण गरिएको क्वारेन्टाइनमा गहुँको नलको ओछ्यान बनाएर भारतबाट फर्किएका नागरिक सुत्दै आएका छन् । गाउँपालिकाले पुरानो गाविस भवनलाई क्वारेन्टाइन बनाएको थियो । क्वारेन्टाइनमा बसेकाले खानाको व्यवस्थासमेत राम्रो नभएको गुनासो गरेका छन् ।

दैलेखको ठाँटीकाँध गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा नल ओच्छ्याइएको छ। अन्य पालिकामा निर्माण गरिएका क्वारेन्टाईनको अवस्था पनि दयनीय नै छ । क्वारेन्टाइनमा बस्दा अनेकौं सास्ती भोग्नुपरेको ठाँटीकाँध गाउँपालिकाका इन्द्रजंग शाहीले बताए । ‘ओछ्यान पनि थिएन, गाउँलेसँग मागेर नलको व्यवस्था आफै गरेका हौं,’ उनले भने, ‘कहिलेकाँही त रातभरि जाग्राम बस्छौं । होम क्वारेन्टाइनमा बस्न दिए बरु सुरक्षित भइन्थ्यो ।’ क्वारेन्टाइनमा बस्दा झनै रोगले थला परिने जोखिम बढेको उनको गुनासो छ ।
नारायण नगरपालिका–४, सोतस्थित महेन्द्र माध्यमिक विद्यालयमा सामान्य चेकजाँच गर्न पनि स्वास्थ्यकर्मी पुगेका छैनन् । चेकजाँच नहुँदा संक्रमणको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ । विद्यालयलाई ५ दिनअघि क्वारेन्टाइन बनाइएको थियो । ‘न समयमा खाना छ न चेकजाँच,’ क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाले भनिन, ‘बिजुली सुविधा नहुँदा अँध्यारोमै रात बिताउँछौं ।’उनले एउटै कोठामा २२ जनालाई राखिएको गुनासो गरिन् । उनका अनुसार विद्यालयका चार कोठामा ७९ जनालाई कोचाकोच राखिएको छ ।
