२०८३, १८ असार बिहीबार

कोरोनाले विकास र समृद्धिको अभियानमा चुनौति थप्योः मुख्यमन्त्री शाही

सुर्खेत, १५ जेठ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाले गर्दा विकास र समृद्धिको अभियानमा चुनौति थपिएको बताएका छन् । विहीबार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको अवसर पारेर मुख्यमन्त्री शाहीले जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
‘विश्व मानव जातिका अगाडि नयाँ चुनौतिका रुपमा खडा भएको यो संकटले निश्चय पनि विकास र समृद्धिको हाम्रो अभियानमा केही अवरोध उत्पन्न गरेको छ । विकास र समृद्धिको दीर्घकालीन अभियानबाट विचलित नभई कोभिड– १९ ले निम्त्याएको तात्कालिक समस्या सामाधान गर्न प्रदेश सरकारको ध्यान केन्द्रित रहेको छ ।’ मुख्यमन्त्री शाहीले भनेका छन्, ‘कोभिड–१९ को प्रभाव अझै केही समय रहने भएकोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत कोभिड प्रतिकार्यमा केन्द्रित गरिनेछ । वलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न हाम्रासामु आइपुग्ने सवैखाले बाधा, अवरोध र चुनौतीहरुको सामना गर्दै प्रदेश सरकार लागिरहने विश्वास दिन चाहन्छु ।’ विश्व समुदायसँगै प्रदेश सरकार पनि सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस (कोभिड– १९) ले श्रृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न लागिरहेको उनको भनाई छ । हरेक समस्याको सामाधान अवश्यंभावी भएकोले कोभिड– १९ ले ल्याएको संकट पनि सामाधान गर्ने विश्वास दिलाउदै मुख्यमन्त्री शाहीले अहिलेको परिस्थितिबाट निराश नहुन तथा धैर्य गर्न आग्रह गरेका छन् । बरु सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने मुख्यमन्त्री शाहीको विश्वास छ । ‘सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्नुहुन अनुरोध गर्दछु ।’
गणतन्त्र दिवस– २०७७ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभियान सफल बनाई सामाजिक न्यायसहितको समाजवादी राज्यव्यवस्था स्थापनाका लागि हामी सवैमा प्रेरणा प्रदान गर्ने विश्वाससहित उनले शुभकामना व्यक्त गरेका छन् ।