वीरेन्द्रनगरको क्वारेन्टाईनमा करिब साढे दुई सय नागरिक राखियो, वीरेन्द्रनगरका सबै सामुदायिक विद्यालय क्वारेन्टाईन बनाईदै
सुर्खेत, १३ जेठ ।
कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा बनाइएका क्वारेन्टाईनमा दुइ सय ४७ नागरिक राखेको जनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीका अनुसार ती नागरिकहरुलाई बालमन्दिर आधारभूत विद्यालय, जन माध्यमिक विद्यालय, त्रिपुरेश्वर माध्यमिक विद्यालय, चन्द्रगंगा माध्यमिक विद्यालय र शिक्षा क्याम्पस सुर्खेतको मैत्री भवनमा राखिएको हो । ‘माथि उल्लेख गरिएका क्वारेन्टाईनमा क्रमश २१, ३०, २८, ६५ र १०३ जना राखेका छौं ।’ उनले भने, ‘ज्येष्ठ १३ गते भारत लगायत विभिन्न मुलुकबाट यस नगरपालिकामा भित्रिएका १३६ जनाको आरडिटी टेस्ट गरिएकोमा ११९ जनाको रिपोर्ट नेगेटिभ आएको र निजहरुलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान संकायको भवन तथा अन्य भवनहरुमा पूर्वसावधानी गृह (क्वारेन्टाइन) स्थापना गरी राख्ने तयारी भएको छ भने १७ जनाको रिपोर्ट पोजेटिभ आएको र निजहरुलाई प्रदेशको क्वारेन्टाइनमा पठाइएको छ ।’
यता, नगरपालिकाले वीरेन्द्रनगर नगरपालिका भित्रका सबै ६४ वटै सामुदायिक विद्यालयहरुलाई पूर्वसावधानी गृह(क्वारेन्टाइन) स्थलको रुपमा स्थापना गर्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले बताएकी छिन् । सो निर्णय सँगै क्वारेन्टाईन स्थलमा आवश्यक पर्ने सामाग्री कसैले दिन चाहेमा स्वीकार गर्ने निर्णय गरेको बताउँदै उनले भनिन्, ‘नगरपालिकामा हाल संचालनमा रहेका र आगामी दिनमा सञ्चालनमा आउने पूर्वसावधानी गृह(क्वारेन्टाइन) स्थलमा आवश्यक पर्ने बेड, बिस्तारा, झुल लगायतका लजेस्टिक सामानहरु कुनै पनि व्यक्ति वा संघ संस्थाले प्रदान गर्न चाहेमा नगरपालिकाले स्वीकार गर्ने, पूर्वसावधानी गृह(क्वारेन्टाइन)स्थलको सुरक्षाको लागि संघ तथा प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेका छौं ।’
