कोरोना विरद्ध लड्दै आएका सुर्खेतका ४३ पत्रकारको नोज्नल स्वाव जाँच सम्पन्न, विहीबार रिपाेर्ट अाउने
सुर्खेत, ३१ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको समन्वयमा बुधबार जिल्लामा कार्यरत ४३ जना पत्रकारको नोज्नल स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको छ । कोरोना संक्रमणबाट पत्रकार पनि अछुतो नभएको पाइएपछि सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वाव संकलन गरेका थिए । कोरोना संक्रमण सुर्खेतको सिमाना जोडिएको बाँके र बर्दियामा देखिइसकेको छ ।

‘सरकारले सबै पत्रकारको नमूना संकलन गरेर राम्रो काम गरेको छ ।’ महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले भने, ‘कोरोना संक्रमणबाट सबैले जोगिनु आवश्यक छ । रात दिन खटिरहेका पत्रकारको नमूना संकलन गर्नु असाध्यै राम्रो काम हो ।’
पत्रकारहरुको नमूना संकलन भइरहेको स्थानमा आइ सामाजिक विकास मन्त्री दल रावलले कोरोना विरुद्धको लडाईमा कर्णालीका पत्रकारको अथाह सहयोग भएको बताउँदै पत्रकारमा कोरोना छ कि छैन भनेर दश वटै जिल्लामा जाँच गरिएको बताए । उनले स्वास्थ्यकर्मी, सुरक्षा कर्मी र सञ्चारकर्मीको कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रशंसा गरे ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननीधि वाग्लेले विहीबार दिउसोसम्म सबै पत्रकारको रिपोर्ट आइसक्ने बताए ।
