२०८३, १७ असार बुधबार

आठबीसमा जुटदै सहयोगि हात, नगरपालिकालाई युवाहरुको साथ !

सुर्खेत, १४ बैशाख ।
दैलेख जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दुर्गम पालिका आठबीस नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आठबिस नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक योगदान गर्ने सहयोगी हात जुटिरहेका छन् । दैलेखकै अति विकट उक्त नगरपालिकामा विभिन्न पेशा व्यवसायमा काम गरिरहेका युवाहरुले सहयोग रकम हस्तान्तरण गरिरहेका छन् ।
नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी शनिवार राकमकर्णालीको होटल वसिस इनको तर्फबाट ५० हजार रुपैयाँको चेक युवा व्यवसायी भरतकुमार सिजापतिले नगरप्रमुख खड्गराज उपाध्यायलाई हस्तान्तरण गरेका हुन ।
आठबिस नगरपालिका–४ राकमकर्णालीमा सञ्चालित उक्त होटलका सञ्चालक एवं क्षितिज कन्ट्रक्सनका सञ्चालक सिजापतीले स्वास्थ्य चौकी राकमकर्णालीलाई एक थान इसिजी मेसिन उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । ‘यहाँको स्वास्थ्य क्षेत्रमा केहि योगदान दिनको लागि यो सानो सहयोग गरेको हुँ ।’ उनले भने, ‘आगामी दिनमा पनि नगरपालिकालाइृ सकेसम्म सहयोग गर्ने बचन दिएको छु ।’ उनले सरकार एक्लैले मात्रै महाविपत्तिको सामाना गर्न नसक्ने भएका कारण आफूले सहयोग गरेको बताए ।
विश्वव्यापी रुपमा मानव जातिविरुद्ध आइपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति नगरप्रमुख उपाध्यायले हार्दिक आभार सहित सहयोगको लागि धन्यवाद व्यक्त गरे । ‘पछाल्लो चरणमा आम आठबीसका युवाहरुले सहयोग गरिरहनु भएको छ । यसकालागि सबैको सहयोग अझै आवश्यक छ ।’ उनले भने, ‘नगरवासीलाई कोरोनाबाट जोगाउन नगरको पहलले मात्रै हुँदैन, सबैको सहकार्य आवश्यक छ । सहयोग गर्न इच्छुक नागरिकलाई आव्हान गर्दछु ।’