वीरेन्द्रनगरमा लकडाउनको बेला चार घण्टा पसल खुल्ला, चौतर्फि विरोध
सुर्खेत, ६ बैशाख ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा अत्यावश्यक सेवाकालागि भन्दै खाद्यान्न पसल विहान ११ देखि तीन बजेसम्म खुला राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र सुखेृत उद्योग वाणिज्य संघको मिलेमतोमा बन्दा बन्दीको अवधिमा कम समय पसल खोल्न आग्रह गर्नुको साटो दैनिक चार घण्टा बढि पसल खुल्ला राख्नुले कोरोनाको संक्रमणको खतरा बढाएको बताउँदै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
अनेरास्ववियु सुर्खेतका पूर्व अध्यक्ष प्रेम खड्काले प्रमूख जिल्ला अधिकारी न्यौपानेको यो कदम गलत भएको बताउँदै कडा आलोचना गरेका छन् । उनले भनेका छन्, ‘सुर्खेत उद्योग बाणिज्य संघले के गर्दैछ यस्तो ? सुर्खेत उद्योग बाणिज्य संघको लापरबाही कहिले सम्म ? के सोच्दै छ नालायक संघको नेतृत्व ? के प्रत्येक दिन ४÷५ घण्टा पसलहरु खोलेर भोलि कुनै संकट आयो भने त्यको जिम्मेवारी लिन तयार छ बाणिज्य संघ ? भोलि महामारी फैलियो भने तेसको जिम्मा कस्ले लिन्छ ? गरिब, मजदुरहरुलाई सरकारले खाद्यान्न बाढेकै छ, बाकी रह्यो किनेर खान सक्ने हरुको कुरा, एक दिन सामान किन्यो भने १५÷२० दिन खान मज्जाले पुग्दछ, एक बोरा चामल किन्यो भने जुनसुकै परिवारलाई पनि १५ दिन खान पुग्दछ भने के का लागि चाहियो यो प्रत्येक दिनको ४÷५ घण्टा बजार खुल्ला ? सिडियोले के हेरेर दिए खुल्ला गर्ने अनुमती ? के आफ्नो असक्षमताको पराकाष्ठा जनतालाई देखाउन हो ? यस्ता असक्षम सिडियोबाट जनताले के आशा गर्ने ? के भोलि समस्या आयो भने सिडियोले त्यसको जिम्मेवारी लिन्छन ? बिरेन्द्रनगर नगरपालिकाको काम के हो ? पालिका भित्रका आफ्ना जनताको जिम्मा लिन सकिदैन मेयर साब ? उद्योग बाणिज्य संघको यो निर्णयबाट भोलि बिरेन्द्रनगरमा कोरोना संक्रमण फैलियो भने नगरपालिकाले यस्को जवाफ दिनु पर्छ कि पर्दैन ? जिम्मा लिनु पर्छ कि पर्दैन ? प्रदेश सरकार के हेरेर बसेको छ ? यस्ता निर्णय गर्ने उद्योग बाणिज्य संघ र यसको मतियार जिल्ला प्रशासन, त्यसका प्रमुख सिडियोलाई कार्वाही गर्नु पर्दैन ? के प्रदेश सरकारको आखामा कालो चस्मा लगाएर बस्ने नीति छ ? नागरिक प्रतिको आफ्नो दायित्व पूरा गर्नु पर्दैन ?’
वीरेन्द्रनगर ६ का अर्का युवा रमेश सिजापतिले सरकारले नै कोरोना फैलाउन सहयोग गरिरहेको आरोप लगाए । ‘कम्तिमा कोरोना फैलन रोक्न लकडाउनलाई कडा पार्दै लैजानु पर्नेमा दैनिक चार घण्टा बजार खुला राख्ने निर्णय गर्नु खतरनाक छ ।’ उनले भने, ‘यस विषयमा सम्वन्धित सरोकारवाला निकायको ध्यानाकर्षण हुन आवश्यक छ ।’
वीरेन्द्रनगर ९ का कमल श्रेष्ठले खाद्यान्न पसल दैनिक खोल्न आवश्यक नै नरहेको बताए । ‘हरेक दिन खाद्यान्न पसल खोल्न आवश्यक नै म देख्दिन । के कारणले हो दैनिक चार घण्टा पसल खुला हुन्छ । हिजो बजारमा धेरै भीड थियो ।’ उनले भने, ‘एकातिर लकडाउन भन्दै नागरिकलाई घरमै बस्न आग्रह गर्ने, अर्कोतिर विभिन्न बहानामा लकडाउन नै नागरिकले उल्लंघन गर्ने गरी निर्णयहरु गर्ने कार्य सहि होइन । गलत हो । यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी छ ।’
यता, कोरोना रोगका फोकल पर्सन डा. के एन पौडेलले कोरोनाबाट जोगिने एक मात्र उपाय भनेको लकडाउनको पूर्ण पालना र सामाजिक दुरी कायम गर्नुको विकल्प नभएको बताए । ‘लकडाउनको पूर्ण पालना गर्नमा कोही चुक्नु हुँदैन ।’ उनले भने, ‘यसकालागि सबैले लकडाउन कडाईका साथ अझ केहि हप्ता पालना गर्नुपर्छ । कोरोनाले मान्छेको अनुहार हेरेर संक्रमण गर्ने होइन । यतातर्फ सबैको ध्यान जान आवश्यक छ ।’
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सिमित समय राखेको खण्डमा पसलमा भीडभाड बढने र त्यसले संक्रमणको खतरा बढाउने हो की भन्ने ठानेर चार घण्टा समय निर्धारण गरेको बताए । ‘हामीले भीड कम होस भनेर चार घण्टा बनाएका हौं ।’ उनले भने, ‘अब यसको विकल्प सोच्दैछौं । ठाँउ तोकेर कुन स्थानमा कुनै बार वा कुनै समय तोक्ने अथवा हप्तामा कुनै दिन कति घण्टा खोल्ने भन्ने बारेमा छलफल गर्छु । यसबारेमा पुर्नविचार गर्छु ।’
